वडाध्यक्षबाट माछा पसलको उद्घाटन

सफल खबर संवाददाता

मंगलबार, ०४ कार्तिक २०७७, १३ : ३९
वडाध्यक्षबाट माछा पसलको उद्घाटन

चितवन । भरतपुर एयरपोर्ट हाटबजार क्षेत्रमा चितवन फिस हाउस सञ्चालनमा आएको छ । 

भरतपुर महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले माछा पसलको उद्घाटन गरेका छन् । चितवनका पुराना माछा किसान लुलाराज तमाङले पसल सुरु गरेका हुन् । पसलमा स्वच्छ माछा पाइने उनले बताए । 

पसल गएर ज्युँदो माछा किन्ने चलन व्यापक हुँदै गएको छ । ‘मेरो पसलमा ज्युँदै माछा जोखेर लैजान पाइन्छ । यसका साथै माछा स्वच्छ सफा पानीले पखाल्ने, फोहर मैलाको उचित व्यवस्थपन गर्ने, झिंगा नभन्कने गरेर पसलमा हामीले ग्राहकलाई सेवा दिने छौं’ तमाङले भने । माछाको फोहर र काटेका कत्ला र भित्री अंगहरु सुकाउन पसलमा भट्टी बनाएको उनले बताए ।

भट्टीमा सुकाएको माछाका त्यस्ता अवशेषहरु दाना लगायतमा उपयोग हुने उनले बताए । जिल्लाकै ताल र पोखरीमा उत्पादन भएका विभिन्न जातका साना ठुला माछाहरु, सुकुटी बनाएका माछाहरु र काँडा निकालेको माछाहरु किन्न सकिने तमाङले जानकारी दिए । 

नेपाल मत्स्य व्यवसायी संघ चितवनका उपाध्यक्ष अर्जुन लामिछानेले जिल्लामा गुणस्तरहीन भारतीय माछा भित्रिन थालेकाले उपभोक्तालाई सजग रहन अपिल गरे । 

प्रतिक्रिया दिनुहोस