उपचाररत थप तिनजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०२ कार्तिक २०७७, ११ : ५६
उपचाररत थप तिनजना कोरोना संक्रमितको मृत्यु

मोरङ । बिराटनगर र धरानमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिराटनगरमा दुईजना र र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना उपचाररत संक्रमितको मृत्यु भएको हो । 

शनिबार राति बिराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । संक्रमित पुरुषको शनिबार राति १०ः५५ बजे मृत्यु भएको हो । ती पुरुषलाई असोज १३ गते कोरोना पोजेटिभ देखिएको थियो ।

बिराटनगरकै एक वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित रहेका बिराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्धको आइतबार बिहान करिब ९ बजे मृत्यु भएको हो । कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो । वृद्धलाई उपचारका लागि नोबेलको कोभिड अस्पतालमा असोज २५ गते भर्ना गरिएको नोबेल मेडिकल कलेजले जनाएको छ । 

यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक वृद्ध पुरुषको पनि मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–९ का ७९ वर्षीय कोरोना वृद्धको उपचारका क्रममा आइतबार बिहान ३ः०५ बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनमा मुटु सम्बन्धी पुरानै समस्या थियो । उनलाई २६ असोजमा कोरोना पोजेटिभ देखिएपछि भोलिपल्ट उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस