मृतकको शव व्यवस्थापन गर्न मन्त्रीसँग हारगुहार

पत्रपत्रिकाबाट

आइतबार, ०२ कार्तिक २०७७, ०८ : २१
मृतकको शव व्यवस्थापन गर्न मन्त्रीसँग हारगुहार

काठमाडौं । घरमै आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्न मिल्ने गरी स्वास्थ्य मन्त्रालयले नयाँ मापदण्ड बनाएको छ ।  मन्त्रालयले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि संशोधन गरेको हो । यसअघिको मापदण्डमा अस्पतालमा मृत्यु भएका संक्रमितको व्यवस्थापन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले मात्रै गर्न सक्ने नियम थियो ।

घरमै मृत्यु भएमा के गर्ने भन्ने कार्यविधिमा समेटिएको थिएन । पछिल्लो समय अस्पताल र आइसोलेसन सेन्टरमा भन्दा होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएपछि मन्त्रालयले सर्वसाधारणले भोगेको समस्या हटाउन यस्तो मापदण्ड तय गरेको जनाएको छ । ‘अस्पतालमा मृत्यु भएकाको शव सेनाको टोलीले व्यवस्थापन गरिरहेका छन् । मृतकको संख्या बढ्न थालेपछि व्यवस्थापनसमेत केही ढिलाइ हुन थालेको छ,’ स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘घरमै मृत्यु हुनेको सवालमा स्थानीय तह र प्रहरीलाई खबर गरेर आफन्तले व्यवस्थापन गर्न सकिने कार्यविधिमा थप गरेका हौं ।’

काठमाडौंमा एक साताअघि घरमै आइसोलेसनमा बसेका बेला मृत्यु भएपछि तत्काल शव व्यवस्थापन हुन नसक्दा आफन्तले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई समेत गुहारेका थिए । ‘आफन्तले व्यवस्थापन गर्न चाहँदा पनि कानुनी अड्चन थियो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘त्यसैलाई फुकाउन आफन्तले शव ब्यागमा राखेर सुरक्षाको मापदण्ड अपनाई परम्पराअनुसार अन्त्येष्टि गर्न सकिने मापदण्ड तय गर्नुपरेको हो ।’

काठमाडौं उपत्यकामा संक्रमितको मृत्यु भए तीन जिल्लाका सेनाको टोलीले पालैपालो व्यवस्थापन गरिरहेका छन् । एकै दिन फरक जिल्लामा एकभन्दा बढीको मृत्यु भएमा एउटै टोलीले व्यवस्थापन गरेर क्वारेन्टाइन बस्ने गरेको छ । एक दिन एउटा जिल्लाको टोली परिचालन हुन्छन् भने अर्को दिन अर्को जिल्लाको टोली शव व्यवस्थापनमा खटिने गरेको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस