वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४ घंटामा पाँच जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २९ असोज २०७७, १० : २२
वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४ घंटामा पाँच जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएको २४ घण्टामा पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशीष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकाका एक महिला र एक पुरुष, इटहरी उपमहानगरपालिकाकी एक महिला र तेह्रथुमका दुई पुरुषको मृत्यु भएको हो ।

अस्पतालका अनुसार तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान ७ बजेर १५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका बिरामी रहेका ती व्यक्तिमा अशोज १० गते संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि सँगै उनलाई अशोज ११ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरि उपचार भइरहेको थियो ।

त्यसैगरी इटहरी उपमहानगरपालिका २० की ७५ वर्षीया बृद्धाको बिहीबार बिहान १२ बजेर ५ मिनेटमा उपचारकै क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उच्च रक्तचापकी बिरामी बृद्धामा अशोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन थप उपचारका लागि प्रतिष्ठानको आकश्मिक कक्षमा उनलाई भर्ना गरिएको थियो । बृद्धाको उपचारकै क्रममा आकस्मिक कक्षमै मृत्यु भएको हो ।

यस्तै धरान उपमहानगरपालिका ९ का दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । प्रतिष्ठानकै प्रयोगशालामा अशोज २५ गते कोरोना संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको कोभिड १९ अस्पतालमा उपचारका क्रममा बुधबार राति ११ बजेर ५५ मिनेटमा मृत्यु भएको हो । 

ती व्यक्ति २८ गते कोभिड अस्पतालमा भर्ना भएका थिए । धरान ९ कै कोरोना संक्रमित ४४ वर्षीया महिलाको समेत बुधबार अपरान्ह ३ बजेर १५ मिनेटमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो । अशोज २७ गते ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । यसअघि, तेह्रथुम दांग्पा १ का ४९ वर्षीय पुरुषको समेत प्रतिष्ठानको आकश्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रतिष्ठानमा उपचारको क्रममा कोरोना संक्रमित मृतकको संख्या ५८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस