कोरोनाले एकै परिवारका तीनको मृत्यु, ६ जना उपचाररत

पत्रपत्रिकाबाट

बुधबार, २८ असोज २०७७, ०७ : ५१
कोरोनाले एकै परिवारका तीनको मृत्यु, ६ जना उपचाररत

दमौली । तनहुँ भिमादका ९८ वर्षीय धर्मकुमार श्रेष्ठ दुई साताअघि चितवनमा कान्छो छोराको घरमा बेहोस भए। उनलाई उपचार गर्न चितवन मेडिकल कलेज लगियो। त्यहाँ आईसीयूमा उपचार गराइरहेका बेला उनका अन्य तीन छोरासहित परिवारका सदस्य भेट्न पुगे।

त्यहीबेला अस्पतालका चिकित्सक र बिरामीमा कोरोना भाइरस संक्रमण भयो। धर्मकुमारको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखियो। तर, उनका छोराहरू  काठमाडौं बस्ने ७६ वर्षीय रामकुमार, तनहुँ भिमाद बस्ने ७१ वर्षीय विष्णुकुमार र ७४ वर्षीय कृष्णकुमारमा कोरोना पुष्टि भयो। कोरोनाबाटै साइलो छोरो विष्णुकुमारको चितवनमा यही असोज १९ गते सोमबार चितवन मेडिकल कलेजमा ज्यान गयो। माइलो छोरो कृष्णकुमारले असोज २४ गते शनिबार बीएन्डबी अस्पताल ललितपुरमा ज्यान गुमाए।

चितवनमा अवस्था चिन्ताजनक भएपछि ९८ वर्षका वृद्धको राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। उनको पनि यही असोज २५ आइतबार निधन भयो। पहिले नेगेटिभ देखिएका ती वृद्धको रिपोर्ट काठमाडौंमा भने पोजिटिभ देखिएको थियो। परिवारकै अन्य ६ जनामा पनि कोरोना देखिएको छ। 

‘एकपछि अरूलाई गुमाउनु पर्दाको पीडा कसरी व्यक्त गर्न सकिन्छ र रु’, कृष्णकुमारकी छोरी सरिता श्रेष्ठले काठमाडौंबाट टेलिफोनमा भनिन्, ‘यस्तो त कसैले भोग्नु नपरोस्।’ उनी तनहुँबाट आफन्तको उपचारमा सहयोग पुर्‍याउन पतिसहित काठमाडौं पुगेकी हुन्। 

धर्मकुमारका दुवै छोराको उपचारका क्रममा प्लाज्मा थेरापी पनि गरिएको थियो। ‘अवस्था सुधार हुन्छ कि भनेर प्लाज्मा थेरापी पनि गरियो’, कृष्णकुमारका ज्वाइँ एवं नेकपा नेता शंकरनारायण श्रेष्ठले भने, ‘तर, बचाउन सकिएन।’ कोरोना संक्रमणबाट मुक्त पत्रकार लीलप्रकाश चन्दले उनीहरूलाई प्लाज्मा दान गरेका थिए।

उनका अनुसार ७६ वर्षीय रामकुमार ह्याम्स अस्पतालको आईसीयूमा उपचाररत छन्। उनकी पत्नी घरमा आइसोलेसनमा छिन्। वृद्धका ७० वर्षका कान्छो छोरो  चितवन, छोरी र ज्वाईं अनि साइली बुहारी पोखरामै आइसोलेसनमा छन्। उनीहरू सबै जना परिवारका अभिभावक भेट्न चितवन पुगेका थिए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस