डा. बाबुराम भट्टराईले कांग्रेस सभापति देउवालाई लगाएको भ्रष्टाचार आरोपप्रति कांग्रेसको आपत्ति

सफल खबर संवाददाता

आइतबार, २५ असोज २०७७, १६ : ०७
डा. बाबुराम भट्टराईले कांग्रेस सभापति देउवालाई लगाएको भ्रष्टाचार आरोपप्रति कांग्रेसको आपत्ति

काठमाडौं । बुढीगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेतको संलग्नता रहेकोे भनि पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही दिनअघि भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवासमेत मिलेर बुढीगण्डकी आयोजनामा ९ अर्ब घुस खाएको दावी गरेका थिए । 

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सो दावी पुष्टि गर्न भट्टराईलाई चुनौति दिँदै गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियारलाई अपील गरेका छन् । 

वर्तमान सरकार बनेपछि बुढीगण्डकी परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पने तारतम्य अघि बढाइएको प्रकरणप्रति कांग्रेसले सार्वजनिक रूपमा निरन्तर विरोध गर्दै आएको भन्दै शर्माले गत ०७५ असोज २१ मा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठक मै पनि यसबारे प्रष्ट निर्णय भएको उल्लेख गरेका छन् ।

तर भट्टराई बुढीगण्डकीबारे ज्वलन्त प्रश्न सम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणी गरेको काँग्रेसको आरोप छ । 

‘ हलुका टिप्पणीहरुलाई प्रष्टीकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा छैन । तर देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘म संग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु हाम्रो कर्तव्य हुन जान्छ’, विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुठ र अर्थहिन आरोपले, हामी नम्र भाषामा अपील गर्दछौं तथ्यको जगमा सत्यको खोजी नगरी केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुनसक्ला तर त्यसले न सम्बन्धित ब्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ । यति हेक्का डा भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौं ।’

काँग्रेसले  ‘बुढिगण्डकी परियोजना स्वदेशी लगानीमै बन्नुपर्ने’ पार्टीको स्पष्ट लाइन रहेको पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस