सन्दीप लामिछाने लङ्का प्रिमियर लिगको छनोट प्रक्रियामा

रासस

शुक्रबार, २३ असोज २०७७, १७ : ३४
सन्दीप लामिछाने लङ्का प्रिमियर लिगको छनोट प्रक्रियामा

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपीएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा परेका छन् ।

ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । सन्दीप हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने क्रममा युनाइटेड अरब इमिरेट्स (युएई) मा छन् ।

यसैगरी अर्का नेपाली खेलाडी सुमन गौतम पनि एलपीएलको ड्राफ्टमा परेका हुन् । सुमन हाल अष्ट्रेलियामा छन् । गौतम रहेको श्रेणीका खेलाडीले १५ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउने छन् ।

आज हुने अक्सनबाट सन्दीप र सुमनको छनोटबारे टुंगो लाग्ने नेपाली राष्ट्रिय टोलीका प्रविधि विश्लेषक रमन शिवाकोटीले जानकारी दिए। लङ्का लिग नोभेम्बर २१ तारिखदेखि सुरु हुनेछ । श्रीलङ्का क्रिकेट बोर्डले पहिलो पटक लङ्का प्रिमियर लिग आयोजना गर्दैछ । उक्त लिगमा २८ विदेशी खेलाडीले स्थान पाउनेछन् ।