आईपीएल : हैदराबादले पन्जाबलाई ६९ रनले हरायो

एजेन्सी

शुक्रबार, २३ असोज २०७७, ०९ : १२
आईपीएल : हैदराबादले पन्जाबलाई ६९ रनले हरायो

दुबई । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  सनराइजर्स हैदराबादले किंग्स इलेभेन पन्जाबलाई ६९ रनले पराजित गरेको छ । दुबईको शारजहामा बिहिबार भएको खेलमा वेस्ट इन्डिजका ब्याट्सम्यान निकोलस पूरनले ३७ बलमा ७७ रन बनाए पनि २ सय २ रनको लक्ष्य लिएर आएको पन्जाब १६.५ ओभरमै १ सय ३२ रनमा अलआउट भयो ।

अब्दुल समादको एक ओभरमा ४ छक्का र एक चौका प्रहार गरेका पूरनले कुल ५ चौका र ७ छक्का प्रहार गरे । रशिद खानले मेडन ओभर फाल्नेक्रममा १५ औं ओभरमा पूरन र मोहम्मद सामीलाई आउट गरे । पूरनबाहेक दोहोरो स्कोर बनाउनेमा कप्तान केएल राहुल र सिमरन सिंह मात्र थिए  । दुबैले समान ११ रन बनाए । ग्लेन म्याक्सवेल ७ रनमा आउट भए । रशिदले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । खलिद अहमद र टी नटराजनले २–२ तथा अभिषेक शर्माले १ विकेट लिए ।

यसअघि कप्तान डेविड वार्नर र जोनी बेरिस्टोले बलियो साझदोरी गरी दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हैदराबादले ६ विकेट गुमाई २ सय १ रन बनाएर विजय आधार तयार पारेको थियो । वार्नर र वेरिस्टोले १५ ओभरमा १ सय ६० रन जोडेर हैदराबादलाई सानदार सुरुआत दिलाएका थिए । युवा स्पिनर रवि विष्णोइले १६ औं ओभरमा दुवैलाई आउट गरे । ओभरको पहिलो बलमै वार्नरले म्याक्सवेललाई क्याच दिन पुगे । उनले ४० बलमा ५ चौका र १ छक्कासहित ५२ रन बनाए  । 

विष्णोइले बेरिस्टोलाई ९७ रनमा एलबीडब्लु आउट गरे । म्यान अफ द म्याच ब्याट्सम्यान बेरिस्टोले ५५ बल खेली ७ चौका र ६ छक्का प्रहार गरे । हैदराबाद छैटौं खेलमा तेस्रो जित हात पारी तेस्रो स्थानमा उक्लिएको छ । आठमध्ये शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान छ । 

प्रतिक्रिया दिनुहोस