कोरोनाको समयमा अस्पताल कस्तो बेला मात्रै जाने ?

पत्रपत्रिकाबाट

शुक्रबार, २३ असोज २०७७, ०७ : ४९
कोरोनाको समयमा अस्पताल कस्तो बेला मात्रै जाने ?

काठमाडौँ । विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ को भयले जनजीवन त्रासमय छ । सबैजसो अस्पतालमा कोरोनाका बिरामी भरिएका छन् । यस्तो अवस्थामा आफूलाई केही समस्या पर्दा अस्पताल जाने कि नजाने भन्ने अन्योल हुनसक्छ । केही समस्या परेर जँचाउन जाँदा कोरोना बोकेर घरमा आइने पो हो कि भन्ने डर सबैमा व्याप्त देखिन्छ ।

अस्पताल कोरोना संक्रमणको जोखिमको मुख्य थलोमध्ये एक हो । त्यसैले यस समयमा आफूलाई आवश्यक परेपनि अस्पताल जान हिच्किचाउने स्वाभाविक भएतापनि अस्पताल जानुपर्ने चिकित्सक बताउँछन् ।

अस्पतालसम्म नजान हामीले स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ नै चिकित्सकको निगरानीमा रहनुपर्छ र एकदम अत्यावश्यक भएमा मात्र आकस्मिक सेवाको लागि सम्पर्क गर्नुपर्छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले अहिलेको अवस्थामा सामान्य रुघाखोखी देखिँदैमा दौडादौड गरेर अस्पताल जानु नपर्ने सुझाउँछन् । डा। पुन भन्छन्, ‘आफू कोरोना संक्रमितसँग एक्सपोज भएको छरछैन वा अन्य कुनै गम्भीर लक्षण देखिएमा अस्पताल जानुपर्छ नत्र सामान्य लक्षण छ भने घरमै ठीक हुन्छ ।’

इमरजेन्सीमा कतिबेला जाने ? मेडिकल इमरजेन्सीका लक्षण के हुन् ?

कोरोना भाइरस संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय हो सम्भव भएसम्म घरमै बस्नु । तर, जो मानिसलाई आकस्मिक मेडिकल सेवाको आवश्यकता छ ऊ अस्पताल जानै पर्छ । आफ्नो शरीरलाई कहिल्यै पनि बेवास्ता नगरौं । केही सम्भावित खतराको लक्षण र चिह्न देखिए चिकित्सकको सल्लाह लिऔं र लक्षण बढे आकस्मिक सेवा लिऔं । कोरोना भाइरसको लक्षण देखिएमा मात्र होइन कुनै जोखिम पूर्ण लक्षणको सामना गरिराख्नुभएको छ भने अस्पताल जानुपर्छ ।

सास फेर्ने गाह्रो भएमा
छाती तथा माथिल्लो पेट दुखेमा
बेहोस जस्तो लक्षण देखिएमा, कमजोरी तथा रिंगटा लागेमा
दृष्टिमा परिवर्तन भएमा
मानसिक अवस्थामा परिवर्तन आएमा
एक्कासि दुखाइ भएमा
अत्यधिक रक्तश्राव भएमा
लगातार वान्ता वा झाडापखाला भएमा
खोकी र बान्ता गर्दा रगत आएमा
बोल्नमा अप्ठ्यारो महसुस भएमा

विशेषगरी हृदयाघात र मष्तिष्कघातमा आकस्मिक सेवाको आवश्यकता हुन्छ । यस्ता बिरामीलाई जतिसक्दो छिटो अस्पताल लग्दा सेवा पाउन सक्छन् नभए कोरोना भाइरसको डरले अस्पताल नजाँदा जोखिम निम्तिन सक्छ । दीर्घरोगी तथा अन्य मेडिकल समस्या भएका बिरामीले यस महामारीमा आफ्नो अवस्था सहज बनाइराख्न चिकित्सकसँग सरसल्लाह लिइराख्नु आवश्यक छ ।
सिभिल अस्पतालका चिकित्सक डा. विदेश विष्टका अनुसार हरेक रोगका फरक फरक लक्षण हुन्छन् । जस्तै टाउको दुखाइ सबै सामान्य हुँदैनन् त्यसले अरु ठूलो समस्या निम्त्याउन सक्छ । ‘सबै रोग सामान्य ठानेर अस्पताल नै नजाने भन्ने त हुँदैन,’ उनले भने, ‘आफूलाई कति गाह्रो भएको छ त्यो पनि याद गर्नुपर्छ ।’

चिकित्सक कहाँ कति बेला जाने ?
आफूमा कुनै समस्या छ भने त्यसको सही समयमा समाधान गर्दा शरीर थप बिग्रिनबाट जोगिन सक्छ । धेरैलाई अवगत नै छ कोरोना भाइरसको उपचारमा खटिएका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीहरु पनि संक्रमित बन्न पुगिरहेका छन् । बिरामीबाट चिकित्सकमा र चिकित्सकबाट बिरामीमा सर्न सक्ने सम्भावना हुन्छ । घरबाहिर निस्किँदा अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्नुपर्छ । यदि चिकित्सकले टेलिमेडिसिनबाट उपचार सेवा दिन सक्छन् भने त्यसलाई पहिलो प्रथमिकता दिउँ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस