कविता : भो दुनियाँका कुरा नगर

विहीबार, २२ असोज २०७७, १४ : २९
कविता : भो दुनियाँका कुरा नगर

- डा. विष्णु सुवेदी
दुनियाँको कुरा नगर भो मसँग
अरुका कुराहरु मसँग गर्दै नगर
कहिल्यै एकलकाटे हुँदैनन् एकलै हिँड्नेहरु
अट्टहासले किन गुन्जाउँछौं संसार
कहिल्यै विलासी हुँदैनन् भरियाहरु

अरुको पर्वाह छैन तिमीलाई
असारे हिलो तिमीलाई गनाउँछ
थाप्लोमा नाम्लो बिझाउँछ
थाहा छ तिमीलाई ?
तिम्रो केश छोप्ने छालाको छातेटोपीमा
तिम्रो पुर्खाको हाडछाला खिईएको छ
बिदेशी सुगन्धित अत्तरहरुमा
पसिनाको गन्ध मिसिएको छ
नितान्त अनभिज्ञ छौ तिमी
भुलेको छौ तिमीले आफ्नो बाटो
किनकी
आधुनिक बन्ने होडबाजीमा
बर्षौंदेखि आफैँ भित्र हराइरहेका छौ तिमी

मुस्किल छ तिमीलाई एक छाक भोको बस्न
असह्य्य हुन्छ तिमीलाई गुन्द्रुकको झोल निल्न
अनि पच्दैन एकछाक कोदोको ढिडो
त्यसैले, आफ्नो कुरा गर
कोहीसँग संकोच मान्नु पर्दैन
नगराऊ आफ्नो मतिभ्रम
हाम्रै आधुनिकताले नै हामीलाई
लाचार बनाउँदैछ औपनिबेसिक पार्दैछ
आफूलाई सत्य सावित गर्न रुनु पर्दैन
दूध चोर्ने बिरालो त तिमी नै हौ
तछाडमछाड गरेर कुर्लिनु पर्दैन
संकिर्ण मगज तिम्रै हो
त्यसैले
पानी माथिको ओवानु बन्न
अरुका कुराहरु पटक्कै नगर

प्रतिक्रिया दिनुहोस