आईपीएल : मुम्बई प्रतियोगिताको शिर्ष स्थानमा उक्लियो, राजस्थान ५७ रनले पराजित

एजेन्सी

बुधबार, २१ असोज २०७७, ०८ : ४५
आईपीएल : मुम्बई प्रतियोगिताको शिर्ष स्थानमा उक्लियो, राजस्थान ५७ रनले पराजित

एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पुनः प्रतियोगिताको शिर्ष स्थानमा उक्लेको छ । मंगलबार राति युएईमा सम्पन्न खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै शिर्ष स्थानमा उक्लेको हो ।

टस जितेर मुम्बईले ४ विकेट गुमाई १ सय ९३ रन बनायो । जवाफमा आएको राजस्थान १८.१ ओभरमा १ सय ३६ रनमै अलआउट भयो । इंग्लिस विकेटकिपर जोस बटलरले ४४ बलमा ७० रन बनाए पनि राजस्थानलाई विजय दिलाउन सकेनन् ।

प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित मुम्बईले त्यसपछिको ५ मध्येको ४ खेल जित्दै शीर्ष स्थानमा उक्लिएको हो । दिल्ली क्यापिटल्सको पनि समान ८ अंक भए पनि मुम्बई राम्रो रन रेटमा शीर्ष स्थानमा छ । त्यसको विपरीत पहिलो दुई खेल जितेर शीर्ष स्थानमा रहेको राजस्थान त्यसपछिका लगातार तीन खेलमा हार बेहोर्दै सातौं स्थानमा झरेको छ ।

मुम्बईका स्ट्राइक बलर जस्प्रित बुमराहले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । त्यस्तै जेम्स प्याटिन्सनले ३।१ ओभरमा १९ र ट्रेन्ट बोल्टले ४ ओभरमा २६ रन खर्चेर २–२ तथा किइरन पोलार्ड र राहुल चहारले १–१ विकेट लिए । राजस्थानबाट बटलरबाहेक जोफ्रा आर्चरले ११ बलमा २४, टम कुरानले १५ र माहिपाल लोमरोरले ११ रन बनाए ।

यसअघि मुम्बईबाट सूर्यकुमार यादवले ४७ बलमा अविजित ७९ रन बनाएका थिए । उनले ११ चौका र २ छक्का प्रहार गरे । क्विन्टन डी कक १५ बलमा २३, कप्तान रोहित शर्मा २३ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३५ र क्रुनाल पाण्ड्या १२ रनमा आउट भए ।

प्रतिक्रिया दिनुहोस