मेरो अभिव्यक्तिले अलमल निम्त्यायो : गृहमन्त्री बादल

सफल खबर संवाददाता

सोमबार, १९ असोज २०७७, १५ : ४९
मेरो अभिव्यक्तिले अलमल निम्त्यायो : गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा र बलात्कारका घटनाका विषयमा आफुले दिएको अभिव्यक्तिले केही अलमल निम्त्याएको बताएका छन् ।

विश्वको तुलनामा नेपालमा बलात्कार र महिलाहिंसाको अवस्था चिन्ताजनक छैन भन्ने अभिव्यक्ति विवादमा आएपछि थापाले आफ्नो अभिव्यक्तिले अलमल निम्त्याएको थापाले बताएका हुन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा आज भएको छलफलमा थापाले अन्य देशहरुको तुलनामा नेपालको अवस्था चिन्ताजनक नरहेको विश्लेषण गरेपछि केही अलमल भएकाले अबदेखि सजगता अपनाउनुपर्ने बताए । 

थापाले गत बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भएको छलफलमा विश्वका २ सय बढी मुलुकको तथ्याङ्क विश्लेषण गर्दा नेपालको अवस्था चिन्ताजनक नरहेको बताएका थिए । उनले नेपालमा प्रतिदिन ६÷७ वटा बलात्कारका घटना घट्ने गरेको पनि बताएका थिए । 

आज भएको छलफलमा सांसदहरुले अन्य देशको तुलना गरी नेपालको अवस्था चिन्ताजनक छैन भन्न नहुने बताएपछि गृहमन्त्री थापाले आफुले अब सजगता अपनाउने बताए ।

समिति छलफलमा गृहमन्त्री थापाले नेपालमा कोरोनापछि बलात्कारका घटना वृद्धि भइरहेको पनि बताए । विगत वर्षहरुको तथ्याङ्क हेर्दा यो वर्ष घटनाहरु बढ्न सक्ने उनले बताए । सरकारले बलात्कार, महिला हिंसा र दलित समुदायमाथि हुने हिंसा न्यूनिकरणका लागि शून्य सहनशिलताको नीति अपनाएर अघि बढेको पनि उनले बताए । 

सांसद उदया शर्मा पौडेलले प्रतिदिन ७ जना महिला बलात्कारको शिकार हुने तथ्याङ्क रहेकोमा गृहमन्त्रीले आत्तिनुपर्ने अवस्था छैन भनेर भन्न नहुने बताए । सांसद राम लखन चमारले उत्पिडन वर्गले प्रहरी प्रशासनबाट अपेक्षाकृत न्याय पाउन नसके भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए । सांसद इन्दु कडरियाले महिला हिंसाका घटना बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरे । पीडित महिला आँफै उजुरी दिन जाँदा प्रहरीले उजुरी नलिने गरेका घटनाहरु पनि बाहिर आएकाले छानबिन गरी कडा कारवाही गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस