निगम भन्छ : नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्

रासस

विहीबार, १५ असोज २०७७, १२ : २३
निगम भन्छ : नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्‍ने गरेको जनाएको छ । कोभिड-१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी बिदादेखि करार अवधिसमेत छोट्याएसँगै नेपाली पाइलटको न्यूनतम तलब बढेको हो ।

निगमले विदेशी पाइलटलाई धेरै तलब-सुविधा दिएको भनी विभिन्‍न सञ्‍चारमाध्यममा तथ्यहीन र आधारहीन समाचार आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति जारी गरी पाइलटको सेवा-सुविधासम्बन्धी समाचारको खण्डन गरेको छ । केहीदिनयता अनलाइन, प्रिन्ट संस्करण तथा टेलिभिजनमा स्वदेशी पाइलटलाई कम तलब र विदेशीलाई धेरै तलब दिएको भन्दै समाचार सार्वजनिक भएको थियो । साथै स्वदेशीलाई कम उडान दिएर विदेशीलाई धेरै उडान दिएको भन्ने समाचारप्रति पनि निगमले आपत्ति जनाएको छ ।

निगमले कोभिड-१९ महामारीको विषम् परिस्थितिमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन र विभिन्‍न देशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउन नेपाली तथा विदेशी पाइलटहरुको महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।

जुलाई (साउन) को तथ्याङ्‍कअनुसार नेपाली पाइलटले न्यूनतम ५ लाख २९ हजार १८७ रुपैयाँ बुझेका छन् । त्यही समयमा विदेशी पाइलटले ४ लाख ८० हजार मात्र बुझेका छन् । निगमले जारी गरेको विज्ञप्तिमा २०७६ चैतदेखि विदेशीका हकमा ५० देखि ६० प्रतिशतसम्म सेवा सुविधा एवं पारिश्रमिक कटौती गरिएको, करार अवधि समाप्त भएका सात विदेशी पाइलटको करार सेवा नवीकरण नगरिएको र हाललाई न्यूनतम सङ्ख्यामा उडानहरु भर्न सक्ने गरी ६ जनामात्र विदेशी पाइलट राखिएको बताइएको छ ।

योसँगै हाल करार सेवामा रहेका विदेशी पाइलटलाई उनीहरुको सेवा-सुविधा तथा पारिश्रमिकमा ६६ प्रतिशतसम्म कटौती गरी करार नवीकरणको अवधिसमेत छोट्याइएको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार पछिल्लोपटक विदेशी पाइलटको करार नवीकरण गरी खुद तलब प्रतिमहिना ४ हजार अमेरीकी डलर र बसोबास खर्च १ हजार अमेरीकी डलर मात्र तोकिएको छ ।

एयरबस ३३० को एक विदेशी पाइलटको करार भङ्‍ग तथा अर्का एक पाइलटलाई पूर्ण वेतलबी बिदामा राखिएको निगमले जनाएको छ । बन्दाबन्दी सुरु भएलगत्तै प्रभावकारी जनशक्ति योजना व्यवस्थापनका साथै क्रमिक रुपमा भइरहेको सेवा-सुविधा तथा पारिश्रमिक कटौती एवं करार भङ्‍ग तथा नवीकरण नगरिएका कारण विदेशी पाइलटप्रति निगमको आर्थिक दायित्व घट्न गई जुलाई महिनामा जम्मा मासिक ७३ लाख ७१ हजार रुपैयाँ मात्र रहेको जनाएको छ । जुन कोभिड-१९ अघिको तुलनामा ७७ प्रतिशत कम हो ।
    
यसैगरी निगमको वर्तमान अप्रेसन म्यानुअल ट्रेडिङअनुसार ए ३२० जहाजमा कम्तिमा ६ जना र बढीमा ९ जनासम्म इक्जामिनर प्रशिक्षक पाइलटको जरुरी रहेको र सन् २०१९ मा निगमले तयार गरेका नेपाली प्रशिक्षक पाइलटमध्ये एकजना प्रशिक्षक पाइलट करिब दुई महिनाको सेवा मात्र गरी ए ३३० को तालिममा गएका र निगमको ए ३२० जहाज सञ्चालन गर्न प्रशिक्षक पाइलटको अभावले हाल एकजना मात्र विदेशी प्रशिक्षक पाइलट करारमा  राखिएको उल्लेख छ ।