काठमाडौँ । सवारी तथा यातायात व्यवस्थापनलाई थप व्यवस्थित र सुरक्षित बनाउन सरकारले सवारी तथा यातायातसम्बन्धी कानुन संशोधन तथा एकीकरणको तयारी गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा यातायात निरीक्षक तथा ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरी अधिकारीलाई सडकमै तत्काल जरिवाना (स्पट फाइन) गर्न सक्ने अधिकार दिने प्रस्ताव गरिएको हो।
हाल कानुन मन्त्रालयमा पुगेको उक्त विधेयकको दफा ६२ मा यातायात निरीक्षक र ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरी सहायक निरीक्षक दर्जाभन्दा माथिका प्रहरी कर्मचारीलाई नियम उल्लंघन गर्ने सवारी तथा चालकलाई तत्काल जरिवाना गर्न सक्ने अधिकार प्रस्ताव गरिएको छ। विधेयकअनुसार सार्वजनिक तथा निजी सवारीसाधनले ऐन तथा नियमावलीबमोजिम पालना गर्नुपर्ने व्यवस्था कार्यान्वयन भए–नभएको निरीक्षण गर्ने जिम्मेवारी पनि यातायात निरीक्षकलाई रहनेछ।
प्रस्तावित व्यवस्थाअनुसार यातायात निरीक्षकले सार्वजनिक सवारीले तोकिएको रुटमा सेवा सञ्चालन गरे–नगरेको, सिट तथा तौल क्षमताको पालना, जाँचपास, प्रदूषण परीक्षण, दर्ता, चालक अनुमतिपत्र, यात्रु सूची, टिकट, भाडादर तथा सवारीधनीले कानुनबमोजिम पालना गर्नुपर्ने अन्य मापदण्डको निरीक्षण गर्न सक्नेछन्। निरीक्षणका क्रममा सवारी तथा चालक अनुमतिपत्र र सवारीसम्बन्धी कागजात नियन्त्रणमा लिन सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असार २०८३, १४ : ४२
लेखकबाट थप