मनकामना मन्दिर खुल्नासाथ केवुलकार सञ्चालनमा आउने, इ-सेवा र फोन पे मार्फत टिकट दिइने

सफल खबर संवाददाता

बुधबार, १४ असोज २०७७, १३ : ३४
मनकामना मन्दिर खुल्नासाथ केवुलकार सञ्चालनमा आउने, इ-सेवा र फोन पे मार्फत टिकट दिइने

काठमाडौं । सरकारले धार्मिक क्षेत्र खुला गर्न निर्देशन दिएर मनकामना मन्दिर खुल्नासाथ मनकामना केवलकारले पनि आफ्नो सेवा सञ्चालन गर्ने भएको छ ।

छ महिनादेखि बन्द रहेको केबलकारमा प्रयोग हुने सबै उपकरणको सुक्ष्म रुपमा मर्मत सम्भार जारी कम्पनीका संचालक राजेशबाबु श्रेष्ठले बताए । कम्पनीले केबलकार सेवा दिनका लागि स्वास्थ्य सुरक्षा अवलम्बनको सम्पुर्ण तयारी गरिसकेको उनले जानकारी दिए ।

कोभिड संक्रमणको महामारीलाई ध्यानमा राख्दै  कम्पनीले  नगदरहित कारोबार सुरु गर्नका लागि इ-सेवा र फोन पे मार्फत कारोबार गर्ने सम्झौता गरिसकेको उनले बताए ।

उनका अनुसार इ-सेवा मार्फत टिकट बुकिङ गर्दा यात्रुले फोनमै टिकट प्राप्त गर्न सक्नेछन् भने फोन पे मार्फत टिकट काउन्टरबाट टिकट लिन सक्नेछन् । 'सुगम देखि दुर्गम क्षेत्रसम्म इ-पे को पहुँच पुगिसकेको छ । नगद रहित कारोबार, यात्रु सेवा सहजता सँगै भिडभाड कम हुने कुरालाई मध्यनजर गर्दै हामीले यो व्यवस्था लागू गरेका हौँ ।' उनले भने।

केबलकार संचालनका लागि तयार रहेको कम्पनी मन्दिर खुला हुने समयको प्रतिक्षामा रहेको बताउँदै उनले भने, 'हाम्रो तयारी पछि केबलकार संचालनका लागि कुनै अप्ठ्यारो छैन । हामी स्ट्याण्डर्ड अपरेसन प्रोसिड्योर अनुसार निर्देशिका पालना कार्यन्वयनमा ल्याउन तयार छौँ । मुख्य कुरो भनेको धार्मिक क्षेत्र कहिलेबाट खुला हुने भन्ने कुरा हो ।' संचालक श्रेष्ठले भने ।

कम्पनीले यात्रु तथा आफ्नो जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि मुल ढोका देखि नै 'हेल्थ स्क्रिनिङ' को तयारी गर्नुका साथै प्रत्येक घण्टा डिसइन्फेक्ट गर्ने तयारी रहेको उनले बताए । उनका अनुसार  कम्पनीले कुरिनटार स्टेशन र मन्दिर क्षेत्रमा रहेको स्टेसनमा आइसोलेसन वार्ड समेत तयार गरेको छ ।

यात्रु र सेवामा सहभागी कर्मचारीलाई फेस सिल्ड, मास्क, स्यानिटाइजेसनको व्यवस्था गर्ने जनाएको छ । कम्पनीका अनुसार स्यानिटाइजेसन, ह्याण्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फेस सिल्ड र फ्रन्ट लाइन वर्करलाई पीपीई लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस