कोरोना भाइरस संक्रमण निको भएपछि के गर्ने ?

पत्रपत्रिकाबाट

मंगलबार, १३ असोज २०७७, ०७ : ४९
कोरोना भाइरस संक्रमण निको भएपछि के गर्ने ?

काठमाडौं । त्रिवि शिक्षण अस्पतालबाट कोभिडको उपचारपछि भदौ ८ गते डिस्चार्ज भएका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का ४६ वर्षीय कन्सल्टेन्ट फिजिसियन डा. ध्रुव गैरेको स्वास्थ्य सामान्य स्थितिमा फर्किन सकेको छैन । उनलाई कोभिड संक्रमण देखिनुभन्दा अघिसम्म स्वास्थ्य समस्या थिएन ।

कुनै प्रकारको नियमित औषधि सेवन गर्नुपर्ने अवस्था थिएन । डिस्चार्ज भएर घर फर्कंदा पहिले त आराम गरेको अवस्थामा पनि उनलाई सास फेर्न गाह्रो भयो । चौबीसै घण्टा अक्सिजन लिनै पर्थ्यो । लामो समयसम्म विभिन्न स्वास्थ्य जटिलता रह्यो । उनी मात्र होइन, कोभिड–१९ निको भइसके पनि थुप्रैले फोक्सो र अन्य स्वास्थ्य समस्या देखिएको बताएका छन् । उनीहरूले अस्पतालबाट डिस्चार्ज भएको एकदेखि दुई सातापछि फोक्सो र अन्य स्वास्थ्य समस्या महसुस गरेको बताएका हुन् ।

‘कोभिड निको भएकाहरूले अझै सास फेर्न समस्या भइरहेको गुनासो गरिरहेका छन्,’ त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा सन्तकुमार दासले भने, ‘उहाँहरूको एक्स–रे रिपोर्ट र शरीरमा अक्सिजनको स्तर भने ठीक देखिन्छ ।’ वरिष्ठ शल्यचिकित्सक डा ज्ञानेन्द्रमान सिंह कार्कीले स्वस्थकर जीवनशैली अपनाउनुपर्ने बताए । विज्ञहरूले कोरोना मुक्त भएपछि अनुशासित जीवनशैली अपनाउनुपर्ने सुझाव दिएका छन् ।

त्रिवि शिक्षण अस्पताल कोभिड उपचार संयोजक डा। दासका अनुसार कोभिड पोजिटिभ भएपछि शरीर कमजोर हुन्छ । यसैले कोभिड नेगेटिभ आएलगत्तै कडा शारीरिक मिहिनेत गर्नुहुँदैन । पर्याप्त आराम गर्नुपर्छ । पौष्टिक खानपानअन्तर्गत रोग प्रतिरोधक क्षमता बढाउने खाद्य र पेय पदार्थ उपभोग गर्नुपर्छ । योगाभ्यास, ध्यान गर्नुका साथै बिहान–बेलुका सुरक्षित रूपमा हिँड्नु फाइदाजनक हुन्छ । उनका अनुसार कोभिड निको भएपछि खाना नरुच्ने, नपच्ने र खाने इच्छा नहुने समस्यासमेत देखिन सक्छ ।

त्यसैले जंक फुड र बढी बोसो, चिल्लो भएको खाद्य पदार्थको उपयोग गर्नुहुँदैन । हरियो सागसब्जी र फलफूल पर्याप्त मात्रामा उपयोग गर्नुपर्छ । दिनहुँ गेडागुडी, पोषिलो तरल पेय पदार्थ र पानी बढी सेवन गर्नुपर्छ । स्वस्थ फोक्सोका लागि प्राणायाम लाभकारी देखिएको छ । चिकित्सक एवं योग प्रशिक्षकको सल्लाहमा फोक्सो बलियो वनाउने प्राणायाम गर्नु फाइदाजनक हुने उनको भनाइ छ । कान्तिपुरमा खबर छ ।