काँग्रेसमा पौडेलले किन पाएनन् सिटौलाको साथ ?

पत्रपत्रिकाबाट

सोमबार, १२ असोज २०७७, ०७ : ४४
काँग्रेसमा पौडेलले किन पाएनन् सिटौलाको साथ ?

काठमाडौं । पार्टीको आन्तरिक मुद्दामा एउटै आवाज देखिए पनि संस्थापन इतर खेमा एउटै मोर्चामा उभिन सकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच गहिरिएको अविश्वास यसको मुख्य कारण देखिएको छ ।

महाधिवेशनलाई प्रभावमा पार्नका निम्ति सभापति शेरबहादुर देउवाले विधानविपरीतका निर्णयहरू गर्दै जान थालेकामा पौडेल र सिटौला दुवैले असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन् ।  दुवैले यस्ता काम नगर्न सभापति देउवालाई चेतावनी पनि दिएका छन् तर एकै ठाउँमा रहेर आवाज उठाउन सकेका छैनन् । त्यसको पछिल्लो उदाहरण बनेको छ, पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गराउन लागेको विरोधपत्रमा सिटौलाको असहमति ।

सभापति देउवाका पछिल्ला गतिविधिविरुद्ध पौडेल पक्षले आइतबार केन्द्रीय कार्यालयमा सामूहिक हस्ताक्षरसहित विरोधपत्र दर्ता गराउन खोजेको थियो । तर सिटौलाले हस्ताक्षर गर्न मानेनन् । केन्द्रीय विभागको गठन र त्यसमा भइरहेको मनोनयन, क्रियाशील सदस्यताको वितरण र नवीकरण, पार्टी संरचनाको समायोजनलगायतका मुद्दा विरोधपत्रमा समावेश थिए । सभापति देउवाले महाधिवेशनलाई आफ्नो पक्षमा पार्न यी विषयमा विधानविपरीत निर्णय गराएको आरोप पौडेल पक्षको थियो । सिटौलाले पनि सार्वजनिक रूपमा यस्ता कदमको विरोध गर्दै आएका थिए । त्यसै कारण सामूहिक अभियानबाट देउवालाई दबाब दिनुपर्ने निचोडमा पौडेल पक्ष थियो ।

सिटौला पक्षमा रहेका केन्द्रीय सदस्यहरू गगन थापा, उमाकान्त चौधरी र प्रदीप पौडेलसमेत संस्थापन इतर खेमालाई एक ठाउँमा उभ्याउने प्रयत्नमा थिए । उनीहरू तीनै जनाले शनिबारसमेत सिटौलालाई मनाउने प्रयास गरेका थिए । ‘ढिलो–चाँडो संस्थापन इतर समूह एक ठाउँमा नआई सुखै छैन, एक ठाउँमा उभिन नसके महाधिवेशन निष्पक्ष पनि हुन नसक्ने र समयमै पनि नहुने खतरा छ, यो देख्दादेख्दै अहिल्यै सामूहिक अभियानमा किन नजाने रु’ थापा, चौधरी र पौडेलको सारमा भनाइ थियो, ‘अहिल्यै हस्ताक्षर गरेर जाँदा सभापतिलाई बढी दबाब पर्छ । एक ठाउँमा उभिन सके विधानविपरीतको बाटो हिँड्न सभापतिलाई गाह्रो पर्छ ।’ कान्तिपुरमा खबर छ । 

त्यसपछि सिटौला पौडेलसँग भेटेरै कुरा गर्न राजी भए । आइतबार बिहान उनी पौडेल निवास बोहोराटार पुगे । दुवै नेताबीच लामै छलफल भयो । ‘भेटेपछि हस्ताक्षर नगर्ने भनेर फर्किनु भएछ, उहाँले त्यसो भनेपछि हामीले पनि गर्ने कुरा भएन,’ तीनमध्येका एक सदस्यले भने, ‘संस्थापन इतर खेमा एक ठाउँमा उभिने वातावरण बनेन भने पार्टीमा अझै गहिरो संकट आउने खतरा देखिँदै छ ।’