सीमास्तम्भ हराएको हल्ला कसरी फैलियो ?

पत्रपत्रिकाबाट

शनिबार, १० असोज २०७७, ०७ : ५३
सीमास्तम्भ हराएको हल्ला कसरी फैलियो ?

काठमाडौं । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको सरकारी टोली आइतबारदेखि हिल्सा–लाप्चा क्षेत्रमा नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर स्तम्भ खोज्न तल्लीन थियो । बुधबार जिल्लाकै एक सरकारी कर्मचारीले फेसबुक स्टाटसमा कमेन्ट लेखे, ‘११ नम्बरको पिल्लर मानेप्यामेको टुप्पोमा छ हजुर ?’

लामो समय जिल्ला प्रशासन कार्यालयमा काम गरेका ती कर्मचारीलाई त्यही कार्यालयबाट चार वर्षअघि सेवानिवृत्त भएका खरिदार कलबहादुर शाहीले सीमास्तम्भबारे जानकारी दिएका थिए ।ती सेवानिवृत्त खरिदारले भने, ‘पिल्लर हराएको होइन, बरु अप्ठेरो ठाउँमा भएकाले जान नसकेका हुन् । मैले त धेरै पटक त्यहाँ गएर फोटोसमेत खिचेको छु ।’ पछिल्लो समय सरकारी कर्मचारीले नै सीमास्तम्भ हराएको गलत हल्ला फैलाएको उनले बताए ।

११ नम्बर सीमास्तम्भ हराएको चर्चा भने उनी जागिरमै हुँदा चलेको थियो । ०७२ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले सीमा बैठकमा स्तम्भ हराएको एजेन्डा राखेका थिए । अहिले प्रश्न उठ्न थालेको छ– जिल्ला प्रशासन कार्यालयकै कर्मचारीलाई सीमास्तम्भ कहाँ छ भन्ने थाहा रहेछ भने हराएको हल्ला कहाँबाट फिँजाइयो ?

सीमास्तम्भ बुधबार जुन स्थानमा जस्तो अवस्थामा भेटियो यसले पनि सीमाजस्तो गम्भीर विषयमा कति हल्का टिप्पणी हुन्छ भन्ने देखाएको छ । अर्कोतिर राज्यको बेवास्ताको हद पनि उदांगो पारेको छ । हुम्लाबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही सीमास्तम्भ हराएको विषयलाई ‘कसैले बनाएको कथा’ बताउँछन् । ‘त्यहाँ कोही नजाने, पिल्लर हरायो भन्दै हल्ला मात्र गर्ने काम भयो,’ उनी भन्छन्, ‘पिल्लर त जहाँको तहीं जस्ताको तस्तै रहेछ । कहाँबाट फिँजाइयो हल्ला, त्यसको खोजी गर्नुपर्छ ।’

०१९ सालमा गरिएको नेपाल–चीन सीमांकनमा हुम्लामा १० सीमास्तम्भ गाडिएका थिए । ११ नम्बर स्तम्भ नाम्खा गाउँपालिका वडा नं। ६ मा पर्ने टाकुले (मानेप्यामे) डाँडामा छ । त्यहाँ सीमास्तम्भ छ भन्नेबारे कतिपय सरकारी कर्मचारीलाई मात्र होइन, स्थानीय बासिन्दालाई समेत थाहा थियो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस