चितवन । भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र जलमग्न भएपछि निकासका लागि पुरानो नहरको खोतल्न थालिएको छ । नारायणी लिफ्ट सिँचाइ आयोजनाको पानी बग्ने नहरहरु ठाउँठाउँमा पुरेर सडक बनाएसँगै शहरी क्षेत्रमा निकासको अभाव हुँदा जलमग्न हुन पुगेको हो ।
भरतपुर महानगरपालिका १० मा अध्यक्ष निर्वाचित भएपछि आफैंले नहर पुरेर सडक बनाएका अरुणपीडित भण्डारीले आज आफैँ डोजरमा चढेर बाटोलाई नहर बनाउन शुरु गरेका छन् । नहर पुरिएपछि भरतपुर महानगरपालिका वडा नम्बर १०, ११, १२ र ७ डुवानमा परेका छन् । अधिकांश सरकारी कार्यालय डुबेका छन् ।
ठाउँठाउँमा अव्यवस्थित रुपमा गरिएको जग्गाको खण्डीकरण र संरचनाले पानीको प्राकृतिक बहाव रोकिंदा पानी जम्ने समस्या आएको छ । नहरको कतिपय भाग पुरेर सडक बनाइएको छ भने कतिपय ठाउँमा निजी तथा सार्वजनिक भवन समेत बनाइएको छ । महानगरमा वर्षाको पानी जाने उचित निकास हुन नसक्दा शहरी क्षेत्र डुबानमा पर्ने गरेको हो । वर्षामा शहरी क्षेत्रमा परेको पानी नहर हुँदै जाने गर्दथ्यो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले तत्काल पानीको निकासका लागि पहिले नारायणी लिफ्टको नहर भएको नहरचोकदेखि रिजालचोक हुँदै केरुङ्गासम्म खनेर कुलो बनाइने बताईन् । त्यसैगरी पूर्वपश्चिम राजमार्ग र वाइपास सडकमा व्यवस्थित ढल निर्माण गरी केरुङ्गा र पुङ्गी खोलामा मिसाइने दाहालले जानकारी दिईन्। पुनः निर्माण हुँदै गरेको हुलाकी सडकको मुख्य बस्ती भएको ठाउँमा ढलको व्यवस्था गरिनेछ । त्यसलाई पनि केरुङ्गामा मिसाइने उनको भनाई छ ।
नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख खेमबहादुर पाठकका अनुसार नारायणी लिफ्टको बी पम्प हाउसबाट तानेको पानी सि एल १ क्यानलमार्फत् आउने नहर पूरै मासिएको छ । भरतपुरको बसेनीबाट नहरचोक, मेडिकल कलेज, गेष्टहाउस चौर, कारागार, रिजालचोक हुँदै उक्त नहर प्रेमबस्तीसम्म पुगेको छ ।
नारायणी लिफ्ट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले सरकारी निकायकै संरक्षणमा नहर अतिक्रमण हुँदा अहिले शहरी क्षेत्र डुबेको र खेतीयोग्य जमीनमा सिँचाइ अभाव भएको बताए । उनका अनुसार नहरको अन्तिम बिन्दु प्रेमबस्तीलगायतका क्षेत्रमा नहरको पानी पुग्न नसक्दा सिँचाइमा समस्या हुने गरेको छ ।
लिफ्टले भरतपुर महानगरपालिकाको वडा नम्बर ४, ५, ६, ८, ९, ११, १२, १४, १५ लगायतका वडाका तीन हजार ५०० हेक्टर प्रत्यक्ष रुपमा सिँचित गर्दै आएको छ । विसं २०४० मा स्थापना गरिएको यस लिफ्ट परियोजनाबाट आएको पानी खगेरी सिँचाइमा मिसाएर पश्चिम चितवनका अन्य वडाहरुमा पनि सिँचाइ गरिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ असोज २०७७, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीपीएफ स्पेनको अध्यक्षमा पुन: विशाल ढुङ्गाना, मेयर रेनु भन्छिन्- यहि वर्ष भरतपुर घुमौँ
भरतपुरमा ठाउँठाउँबाट निस्किए र्याली, नारायणी किनारमा भ्रमण वर्ष उद्घाटन कार्यक्रम सुरु
भरतपुरका विद्यालय बन्द नगरी भ्रमण वर्षको कार्यक्रममा सहभागी हुन महानगरको सर्कुलर
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनका लागि प्रचण्डसहित पाँच पूर्वप्रधानमन्त्री चितवन आउँदै
भरतपुर भ्रमण वर्ष २०२४ : यस्ता छन् प्रमुख पर्यटकीय गन्तव्यहरु
भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा , उद्घाटनमा ५० हजार जना सहभागी हुने