वीरगञ्ज । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयता परेको अविरल वर्षाका कारण बारा, पर्सा तथा रौतहटमा व्यापकरूपमा घर, धान तथा तरकारी बालीलाई क्षति पु¥याएको छ ।
अविरल वर्षाले बारामा आठ घर भत्किएको छ भने हजारौँ हेक्टरमा लगाइएको धान तथा तरकारी बाली नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले वर्षाले कुल्हबी नगरपालिका–७ महुआसपुरका देवराज मुखियाको कच्ची घर भत्किएको बताउनुभयो ।
यसैगरी बाराको पचरौता नगरपालिका–१ पिपरपातीका बुनिलाल पसवानको, सोही ठाउँका सुरेन्द्र पासवानको, सिम्रौनगढ नगरपालिका–८ कचोर्वाका छविलाल यादवको र गढीमाई नगरपालिका–४ मलाहीका राअसिस साह कानुको घर भत्किएको छ । महागढीमाई नगरपालिका–२ रामनाथ कुशवाहाको घर भत्किएको छ । घरबारविहीन भई ओत लाग्ने ठाउँ नभएकाले छिमेकीको घरमा बास बस्न बाध्य भएको उहाँले राससलाई बताउनुभयो ।
पर्साको ठोरी गाउँपालिका–१ बस्ने रामाकुमारी कुवँरको पक्की घर वर्षाले भत्काउँदा रु आठ लाख बराबरको क्षति भएको छ । कुवँरले घर भत्किँदा घरका सबै सामान क्षति भएको, बस्ने ठाउँ नहुँदा छिमेकी सुभद्रा रिमालको घरमा शरण लिएको बताउनुभयो । वर्षाले व्यापक क्षति भए पनि मानवीय क्षति नभएको ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी वर्षाले रौतहटको लालबकैया, वाग्मती, झाझर खोला र चाँदी खोलामा पानीको बहाव उच्च भएपछि बौधीमाई, परोहा, इशनाथ, राजपुर र कटहरीया नगरपालिकाका अधिकांश भूभाग जलमग्न भएपछि त्यहाँका धान तथा तरकारी बालीमा क्षति भएको स्थानीय प्रहरीले जनाएको छ । अविरल वर्षाले कच्ची सडक हिलाम्य भएपछि मानिसलाई आवतजावतमा समस्या परेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ असोज २०७७, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरको बेलौरीमा भारी वर्षा
कैलालीको गर्भा दरबार क्षेत्रमा भारी वर्षा
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु
वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा
मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह