भाँचियो ‘देशको मेरुदण्ड’ – ५

जगदम्बाको गुणस्तरहीन छड प्रयोग गरेका उपभोक्ता चिन्तित

तीन सय टन गुणस्तरहीन छड नष्ट गर्ने तयारी, विभागको निर्देशन अटेर गरे थप कारबाही, इजाजत नै रद्द हुन सक्ने

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, १७ : ०२
जगदम्बाको गुणस्तरहीन छड प्रयोग गरेका उपभोक्ता चिन्तित

काठमाडौँ । शंकर ग्रुपद्वारा उत्पादित जगदम्बा ब्रान्डका गुणस्तरहीन फलामे डन्डी प्रयोग गरेर घर बनाएका सर्वसाधारण आफ्नो घर जुनसुकै समयमा पनि भत्किन सक्ने भयले चिन्तित बनेका छन् ।

सर्वसाधारण जनतालाई विभिन्न झुटा नारा र आश्वासन दिएर ठगी धन्दा गर्दै आइरहेको शंकर ग्रुपको पछिल्लो जगदम्बा ब्रान्डका गुणस्तरहीन फलामे डन्डी फेला परेको पुष्टि भएपछि अहिले आमउपभोक्ता चिन्तित भएका हुन् ।

गुणस्तर तथा नापतौल विभागले ‘देशको मेरुदण्ड’ को भ्रामक नारा दिँदै बजारमा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्ता ठगी धन्दामा मस्त शंकर ग्रुपको जगदम्बा स्टिल्सद्वारा उत्पादित १६ एमएमको टीएमटी बार फलामे डन्डी गुणस्तरहीन प्रमाणित गरी सो डन्डी उत्पादन र बिक्रीमा रोक लगाइसकेको छ । त्यसरी रोक लगाएपछि केही वर्षअघि सोही डन्डी प्रयोग गरेर घर निर्माण गरिसकेका उपभोक्तासमेत त्रसित भएका छन् ।

विभागको निर्देशन अटेर गरे थप कारबाही

गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जगदम्बाले डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि त्यस प्रकारको गुणस्तरहीन डन्डी बिक्रीमा रोक लगाइएको बताए । उनले सो ब्याचको सम्पूर्ण डन्डी बजारबाट फिर्ता लिनसमेत सो उद्योगलाई निर्देशन दिइएको जानकारी गराए । 

अब बजारमा बिक्री गरेको गुणस्तरहीन उत्पादन फिर्ता लिएर जानकारी गराउनसमेत निर्देशन दिएको बताउँदै पुडासैनीले भने, ‘अझै यस उद्योगले विभागको निर्देशन अटेर गरे थप कारबाही हुन्छ ।’ उनले अहिले बाराको सिमरास्थित उद्योगमा मौज्दात रहेको १६ एमएमका करिब ३०० टन डन्डी विभागको प्रतिनिधिको रोहवरमा स्क्राप (नष्ट) गर्न विभागबाट प्राविधिकको टोली त्यसतर्फ जाने बताए । विभागले निर्देशन दिएकै दिनबाट सो उद्योगको उत्पादन बन्द भएको जानकारी गराउँदै महानिर्देशक पुडासैनीले सो साइजको डन्डी उत्पादनको गुणस्तर नसुधारेमा अहिले रोकिएको इजाजत नै रद्द नै हुने बताए । 

विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले पनि जगदम्बा स्टिल प्रालिले १६ एमएमको फलामे डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको बताए ।

विभागका अनुसार परीक्षणको क्रममा जगदम्बा स्टिलको फलामे डन्डीमा केमिकलको मात्रा धेरै पाइएको छ । सल्फर, कार्बनको मात्रा बढी हुँदा रड कडा बन्छ  । रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ । अहिले उसले बजारमा पठाएका यस ब्याचका डन्डी सोही खालका हुन सक्ने भन्दै यसअघि घर निर्माण गरेका उपभोक्तासमेत थप चिन्तित भएका हुन् ।

गुणस्तरमा लापरवाही

गत साउनमा काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डन्डी भाँच्चिएको फेला परेको थियो । सो डन्डी गुणस्तरहीन भएको भन्दै घरधनी भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाही माग गर्दै निवेदन दिएपछि विभागले परीक्षण गरेको थियो ।

अनुसन्धानको क्रममा फलामे डन्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा जगदम्बाले कवाडीमार्फत संकलन गरेका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको पाइएको छ । नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाको गुणस्तरमा यस्तो लापरवाही भेट्टिएपछि अन्य उपभोक्ताको हितका लागि यस्तो कमसल डन्डी बिक्रीमा रोक लगाउनुपर्ने अवस्था आएको विभागले जनाएको छ ।

जगदम्बा स्टिल कम्पनीले समस्या आएका ठाउँमा प्रतिनिधि पठाएर सम्झौता गर्दै आएको पाइएको छ । जगदम्बा डन्डी प्रयोग गरेर निर्माण गरिएका घरलगायत भौतिक पूर्वाधार कमजोर देखिए सुरक्षाका लागि बिमा गरिदिने र थप केही दुर्घटना भए जिम्मेवारी लिने गरी उपभोक्तासँग उसले सम्झौता गर्दै आएको थियो  । अहिले काठमाडौँ महानगरपालिका–१६ बोहोराटारका भट्टराईको तीनतले घरलाई पनि १० वर्षको बिमा गरिदिने र लाइफ ग्यारेन्टी लिने सम्झौता गरी ठगी धन्दाबाट पुनः उम्कने प्रयास गरेको छ ।

अख्तियारको नजर

शंकर ग्रुपले सर्वसाधारणदेखि लिएर ठूला ठूला विकास निर्माणका काममा समेत जगदम्बाका गुणस्तरहीन डन्डी बिक्री गरेको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यस प्रकरणलाई गम्भीर चासोका रूपमा लिएको छ ।

अख्तियारले शंकर ग्रुपको ठगी धन्दामाथि छानबिन गरिरहेको गुणस्तर तथा नापतौल विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिन कार्य माथि समेत निगरानी गरिरहेको छ । अख्तियार स्रोतका अनुसार यस्तो अवस्थामा सरकारी निकाय र शंकर ग्रुपबीच मिलेमतो भएको पाइएमा अख्तियारले छानबिन गर्नेछ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले सर्वसाधारण ठगिएको विषयलाई गम्भीरतापूर्वक लिइएको र उचित कारबाही नभए सम्बन्धित निकायसहित शंकर ग्रुपलाई समेत छानबिनको घेरामा ल्याइने बताए ।

‘यो विषय गम्भीर छ, कतै कसैको मिलेमतोमा विषयलाई सामान्य बनाउन खोजिए त्यस्ता व्यक्तिविरुद्ध भ्रष्टाचारमा छानबिन थालिनेछ,’ अख्तियार प्रवक्ता अधिकारीले राजधानीसँग भने ।

उपभोक्ताको आक्रोश

बोहोराटार खरिबोटका भट्टराईसँगै जगदम्बाकै छड प्रयोग गरेर घर निर्माण गरेका तुलसीराम तिवारी, निर्माणको ठेक्का लिएका अरुण पाण्डे र अन्य उपभोक्ताले समेत अहिले यस्तो गुणस्तरहीन छड प्रयोगले अन्य घरहरू पनि कमजोर भयो कि भन्ने चिन्तासहित आक्रोश व्यक्त गरेका छन् ।

अहिले उनीहरूले यस उद्योगले छड बनाउँदा प्रयोग गरेको कच्चा पदार्थदेखि उत्पादन र गुणस्तरका सबै विषय छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न र यस्तो कार्यमा संलग्न सञ्चालकलाई तत्काल कडा कारबाही गर्नुपर्ने माग गरिरहेका छन् । नत्र आफूहरू संगठित भएर यस उद्योगविरुद्ध आन्दोलनमा उत्रनसमेत बाध्य हुने उनीहरूको भनाइ छ । तर यस उद्योगले सरकारी निकाय एवं राजनीतिक पहुँच र शक्तिको भरमा यस्ता मागलाई कुल्चँदै आएको पीडितहरूको भनाइ छ ।

शक्तिकेन्द्र धाउँदै सञ्चालक

सम्बन्धित सरोकारवालाका अनुसार अहिले शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवाल यस प्रकरणलाई कमजोर बनाउन विभिन्न शक्ति केन्द्रहरूमा धाइरहेका छन् । अर्का सञ्चालक सुलभ अग्रवाल पनि निकै दौडधुप गरिरहेका छन् । अब यस गुणस्तरहीन फलामे डन्डी बिक्री प्रकरणमा गुणस्तर विभागले कारबाहीसहित नयाँ निर्णय नगरेसम्म सो ग्रुपको बारामा सञ्चालित जगदम्बा स्टिल उद्योगको उत्पादन र बिक्रीमा प्रतिबन्ध नै रहनेछ ।

गुणस्तर विभागले मात्र नभएर अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि यस ग्रुपमार्फत सञ्चालित सम्पूर्ण लगानीका कम्पनीमाथिको छानबिन प्रक्रियालाई तीव्रता दिने बताएको छ । यद्यपि सम्पत्ति शुद्धीकरणको कारबाही प्रक्रियाले भने तदारुकता लिन सकेको छैन । साहिल नेपाल उद्योग वाणिज्य महासंघका सदस्य पनि हुन् ।

लकडाउनका बेला थर्मलगनको कालोबजारी गर्दै गर्दा रंगेहात पक्राउ परेका शंकर ग्रुपका अर्का सञ्चालक सुलभ अग्रवालले हतारहतार धरौटी राखेर काठमाडौँ जिल्ला अदालतबाट छुटेपछि यसलाई आश्चर्यमा रूपमा हेरिएको थियो । जिल्ला अदालतबाट छुटेलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी केही समय नियन्त्रणमा लिए पनि अन्ततः उनी छुट्न सफल भएका छन् । अब विभागको कारबाहीबाट उनी कसरी उम्किन्छन् वा कारबाहीको फन्दामा पर्छन् ? हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस