काठमाडौं । भारतको मुम्बईका अंकित सेठिया मुम्बईस्थित ५० शय्याको आफ्नो अस्पतालका लागि अक्सिजनको जोहो गर्न गत शुक्रबार रातभर खटिए । रातभर ओहोरदोहोर गर्दा पनि सेठियाले एसएस अस्पताल तथा अनुसन्धान केन्द्रका ४ मध्ये दुइटा ट्यांकमा मात्र अक्सिजन भर्न सके । उनको अस्पतालका ५० मध्ये ४४ शय्यामा हाल कोरोना भाइरस (कोभिड–१९) का बिरामी छन् र तीमध्ये अधिकांशलाई अक्सिजनको आवश्यकता पर्छ ।
सामान्यतः ९ घण्टामा खाली हुने अक्सिजनको ट्यांक बिरामी सिकिस्त भएका कारण ६ घण्टामा सकिने गर्छ । जसका कारण उनले सधैंजसो अक्सिजन ल्याउने दुवै बिक्रेताकहाँ अक्सिजन सकिएको छ । शुक्रबार राति उनले मुम्बई वरपरका १० जना बिक्रेता र ४ वटा अस्पतालमा धाए । तर कतैबाट पनि सहयोग भने मिलेन । करिब बिहान २ बजे मात्र उनले करिब ३० किलोमिटर परको एक अस्पतालबाट अक्सिजनका २० वटा ठूला सिलिन्डर पाए पनि लैजाने गाडी भने पाएनन् ।
सिलिन्डर अस्पतालसम्म पुर्याउन एम्बुलेन्स ५ पटक ओहोरदोहोर गर्नुपर्यो । ‘अब मसंँग १२ घण्टालाई पुग्ने मात्र अक्सिजन छ,’ उनले आइतबार साँझ भने, ‘अक्सिजनका लागि हामीले दैनिक लड्नुपर्ने अवस्था छ ।’ विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमित करिब १५ प्रतिशत बिरामीलाई श्वासप्रश्वासका लागि अक्सिजनको आवश्यकता पर्छ । त्यसमध्ये कतिपयलाई भेन्टिलेटरमा राख्नुपर्छ ।
भारतमा अक्सिजन शुद्ध गर्ने करिब ५ सय कम्पनी छन् । ती कम्पनीले उत्पादन गर्ने करिब १५ प्रतिशत अस्पतालहरूमा प्रयोग हुन्छ । बाँकी अक्सिजन स्टिल तथा अटोमोबाइल कम्पनीमा खपत हुन्छ । कतिपय अस्पतालले अक्सिजन स्टोर गर्ने स्टिल र आल्मुनियमका सिलिन्डर प्रयोग गर्छन् । तर अस्पतालका शय्यामा लगाइएका त्यस्ता सिलिन्डरहरू बारम्बार परिवर्तन गर्नुपर्ने झन्झट हुन्छ ।
पछिल्लो समय भारतको अर्थतन्त्र चलायमान भएसँगै मानिस काममा फर्केपछि कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । विश्वकै दोस्रो प्रभावित भारतमा हाल ५३ लाख ८ हजारभन्दा बढी संक्रमित छन् । भारतमा पछिल्ला दिनमा दैनिक ९० हजारभन्दा बढी नयाँ संक्रमित थपिने गरेका छन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०४ असोज २०७७, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु