हरियो जहाजको अमिलो कथा

सफल खबर संवाददाता

शनिबार, ०३ असोज २०७७, १५ : ३१
हरियो जहाजको अमिलो कथा

काठमाडौँ । माथिको तस्वीरमा देखिएको हरियो रंगको जहाज ५१ वर्षअघि बेलायतकी महारानी एलिजाबेथले नेपालका तत्कालीन राजा महेन्द्रलाई उपहार दिएकी थिइन् । सन् १९७० मा नेपाल आइपुगेको यो जहाज बितेको पाँच वर्षदेखि उड्न सकेको छैन । यसलाई गत भदौको अन्तिम शुक्रबार रातारात घिसार्दैै नारायणहिटी लगिएको छ । 

नेपालमा भर्खरै व्यवस्थित हवाई सेवाको शुरुवात हुँदै गर्दा नेपाल भ्रमणमा आएकी महारानी एलिजाबेथले राजपरिवारलाई विभिन्न भ्रमण र सवारीका लागि सहज होस् भनी उपहारस्वरुप दिएको त्यही जहाज पूर्वराजपरिवारले प्रयोग गरेका सामग्रीको सार्वजनिक प्रदर्शनका लागि तयार पारिएको संग्रहालयमा राख्न लगिएको हो । 

२७ करोड स्वाहा

यो जहाजको अन्तर्कथा देशप्रेमीहरूको चित्त निकै नै कुँडिनेखाले छ । पाइलट जर्नेल सतिशविक्रम शाहका अनुसार, उनी र सुवर्ण बिष्टले अन्तिम पटक यो जहाज २०७२ सालको भूकम्पताका उडाएका थिए । त्यतिबेला पोखराको निम्ति उडेर काठमाडौँ फर्किएको यो जहाज त्यसयता थन्क्याइँदै आयो । 

काठमाडौँ ल्याइएपछि बिग्रिएको भनेर जहाज थन्कियो । इञ्जिन र विभिन्न पार्टपुर्जाहरूको आयु सकिएपछि नयाँ–नयाँ सामान फेर्ने काम त भयो, तर उडान भएन । यसरी मर्मतमा मात्रै सरकारी ढुकुटीको २७ करोड रुपैयाँ खर्च गरेर पनि नउडेको जहाज हो यो । 

यति ठूलो रकमको दुरुपयोगबारे अहिलेसम्म राज्यका कुनै निकायले छानवीन गर्न सकेको छैन । बरु, सार्वजनिक प्रदर्शनमा राख्नका लागि नारायणहिटी लगिएको छ । यो जहाज आएपछि बल्ल नेपालमा पुमा हेलिकोप्टर भित्रिएको थियो । 

लिलाम हुन नसकेपछि ...

अहिले प्रदर्शनका लागि नारायणहिटी लगिएको यो जहाज एकताका लिलाम बिक्री गरेर केन्या लैजाने तयारी पनि भएको थियो । त्यसका लागि सम्बन्धित एजेण्टले १० प्रतिशत अग्रिम डिपोजिट राखिसकेका थिए । लिलाममा यसको मूल्य थियो डेढ करोड । पछि केन्याको सरकार ढल्यो, बिक्री प्रकरण त्यत्तिकै सेलायो । 

नेपालमा योसहित १५ वटामध्ये तीन वटा जहाज र हेलिकोप्टर बिक्री भएर करिब ४० करोड राजस्व जम्मा भएको छ । बाँकीमध्ये कुनै हेलिकोप्टर भैरवनाथ गणमा त कुनै छाउनीस्थित सैनिक संग्रहालयमा लगिएको छ । 

प्रतिक्रिया दिनुहोस