इच्छाकामना गाउँपालिकामा १० श्ययाको आइसोलेशन

रासस

शनिबार, ०३ असोज २०७७, ०९ : ०४
इच्छाकामना गाउँपालिकामा १० श्ययाको आइसोलेशन

चितवन । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्लाको इच्छाकामना गाउँपालिकाले १० श्ययाको आइसोलेशन तयार गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मुग्लिनमा रहेको थकाली सेवा समाजको भवनमा पाँच र गाउँपालिका परिसरको स्वास्थ्य चौकीमा पाँच श्ययाको आइसोलेशन निर्माण गरिएको हो । 

स्वास्थ्य शाखा प्रमुख वासु सापकोटाका अनुसार सो गाउँपालिकामा हालसम्म १३ जना सङ्क्रमित पुगेका छन् । तीमध्ये आठ जनामा हाल पनि सङ्क्रमण रहेको छ ।

गाउँपालिका अध्यक्ष गीता गुरुङले सङ्क्रमित थपिएको अवस्थामा थकाली सेवा समाजको भवनमा थप पाँच श्यया विस्तार गरिने छ । यस्तै फिस्लिङमा पनि आइसोलेशन सञ्चालन गर्न सकिने उनले जानकारी दिए ।

हाल क्वारेन्टिन बनाइएका विद्यालयमा पनि आइसोलेशन बनाउन सकिने गुरुङको भनाइ छ  । गाउँपालिकाले गरेको मेहेनत र स्थानीय जनताको साथ र सहयोगकै कारण हालसम्म सङ्क्रमण फैलन नपाएको भन्दै उहाँले स्वास्थ्य मापदण्ड पालना गर्न गाउँवासीलाई अनुरोध गरे । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५१४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस