नेकपा नेता व्यवस्थापनमा चुनौती: गौतम सांसद बने, मन्त्री अनिश्चित

पत्रपत्रिकाबाट

शुक्रबार, ०२ असोज २०७७, ०७ : ०७
नेकपा नेता व्यवस्थापनमा चुनौती: गौतम सांसद बने, मन्त्री अनिश्चित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका शीर्ष नेता सबै संसद्मा छिरेका छन् । संसदीय निर्वाचन जितेर आएका बाहेक तीनजना नेता संसद्बाहिर थिए ।

तर उनीहरूलाई पनि राष्ट्रियसभामा लगिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, ईश्वर पोखरेल तथा महासचिव विष्णु पौडेल प्रत्यक्ष निर्वाचन जितेर  

संसद्मा प्रवेश गरेका हुन् भने रामबहादुर थापालाई सुरुमै राष्ट्रियसभामा पठाइएको थियो । संसदीय निर्वाचनमा पराजित पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि नेकपाले राष्ट्रियसभामा पठाएको छ । एकअर्काको स्वार्थ मिल्दा शीर्ष नेता सबै सांसद बनेका छन् ।

पार्टीको एकता महाधिवेशन गर्ने मिति निर्धारण गरिसकेको अवस्थामा पछिल्लोपटक गौतमको मनोनयनमा जोड दिइएको थियो । ओलीको प्रस्ताव, दाहाल र नेपालको जोडबलमा गौतम पनि संसद् छिरेका छन् । यसलाई नेकपाको आन्तरिक विवाद व्यवस्थापनका रूपमा लिनुपर्ने राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल बताउछन् ।

‘शीर्ष नेता सबै संसद्मा सहभागी भएका छन् । यसलाई आन्तरिक विवादको व्यवस्थापन र आकांक्षाको व्यवस्थापनका रूपमा लिनुपर्छ’, उनले भने। पोखरेलका अनुसार अहिले पनि आन्तरिक चुनौती भने कायमै छ । ‘अब संसदीय दललाई सक्रिय बनाउँदा सबै विवादको निरूपण त्यहाँ हुनुपर्ने हो’, प्राध्यापक पोखरेलले भने ।

संसदीय निर्वाचनमा पराजयपछि संसद्मा छिर्न गौतमले लगातार प्रयास गरिरहेका थिए । समान हैसियत निर्धारण गर्नेबारेमा शीर्ष नेताहरूको स्वार्थ मिलेको छ ।

गौतमले समेत आफू पनि बराबरी हो भन्ने पार्न प्रधानमन्त्रीको दाबी गरिरहेका थिए । तर संसद्बाहिर भएपछि उनको त्यो इच्छा पूरा हुन सकेन । एकपटक गौतमले आफू राष्ट्रियसभा सदस्य हुनका लागि संविधान संशोधन गरेर प्रधानमन्त्री हुने बाटो खोल्नुपर्ने समेत बताएका थिए । नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस