चितवनका ४ क्याम्पसका विद्यार्थी विश्व प्रसिद्ध ‘हल्ट प्राईज’ मा सहभागी हुने

सफल खबर संवाददाता

आइतबार, २८ भदौ २०७७, ११ : २०
चितवनका ४ क्याम्पसका विद्यार्थी विश्व प्रसिद्ध ‘हल्ट प्राईज’ मा सहभागी हुने

चितवन । चितवन र नवलपुरमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चार क्याम्पसका विद्यार्थीहरु प्रसिद्ध ‘हल्ट प्राइज’ प्रतिष्पर्धामा सहभागी  हुने भएका छन् । विश्वविद्यालयबट सम्बन्धन प्राप्त चितवन र नवलपुरका चार क्याम्पसका विद्यार्थीहरुको लागि विश्वभरीका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्ने ढोका खुलेको हो । सोमबार हल्ट प्राइज पोखरा विश्वविद्यालय चितवनले एक विज्ञप्ति प्रेषित गर्दै सो पुरस्कारको बारेमा जानकारी गराएको हो ।

विश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रममा विद्यार्थीहरुलाई कुनै एउटा सामाजिक विषयको शीर्षक दिएर सो शीर्षकमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउने र उत्कृष्ट विद्यार्थीको समूहले १० लाख अमेरिकी डलर जित्न सक्ने प्रक्रिया रहेको छ।

उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेसनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसंघले संयुक्तरुपमा आयोजना गर्दै आएको छ। हल्ट प्राइज फाउन्डेसनले युवाहरुका दिमागलाई परिवर्तन गर्न र विश्वव्यापी १० लाख बढी विद्यार्थीहरूलाई दिगो र लाभदायक व्यवसायिक विचार स्थापना गर्न र अगाडि बढाउन मद्दत गरेको छ।

खाद्य सुरक्षा, पानी, उर्जा, शिक्षाजस्ता विषयमा आधारित रहेर हरेक वर्ष अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन्ले विभिन्न शीर्षकमा कार्यक्रम गर्ने गर्छन् । सञ्चालित कलेजमा प्रथम भएको विद्यार्थीको समूह क्षेत्रीय हुँदै अन्तिम चरणसम्म पुग्न सक्नेछन् । उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त कलेजहरु बोस्टन, अक्स्फोर्ड, युटेक र भ्याली स्टेटलगायत कलेजका स्नातक तथा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन् ।

धेरै विद्यार्थीको सहभागिताको लागि विभिन्न क्याम्पसहरुमा हल्ट प्राइजको बारे जानकारीमूलक कार्यक्रमहरु भइरहेको क्याम्पस निर्देशक गौतमले बताए । डिसेम्बर १५ भित्र हुने उक्त कार्यक्रमको तयारी सुरु भएको छ । विद्यार्थीहरुले प्रसिद्ध  ‘हल्ट प्राइज’ पुरस्कारलाई नोबेल पुरस्कारका रुपमा लिने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस