रोनाल्डो एक सय अन्तर्राष्ट्रिय गोल पूरा गर्ने पहिलो युरोपियन पुरुष खेलाडी बने

एजेन्सी

बुधबार, २४ भदौ २०७७, ०९ : ३५
रोनाल्डो एक सय अन्तर्राष्ट्रिय गोल पूरा गर्ने पहिलो युरोपियन पुरुष खेलाडी बने

एजेन्सी । क्रिस्टियानो रोनाल्डो एक सय अन्तर्राष्ट्रिय गोल पूरा गर्ने पहिलो युरोपियन पुरुष खेलाडी बनेका छन् । यूईएफए नेसन्स लिगमा स्वीडेनविरुद्ध जीत हासिल गर्ने क्रममा दुई गोल गर्दै रोनाल्डोले सो उपलब्धि हासिल गरेका हुन् । डिफेन्डिङ च्याम्पियन पोर्चुगलको यो लगातार दोस्रो जीत हो ।    

पहिलो हाफको अन्त्यमा उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै पोर्चुगलका कप्तानले उक्त कोशेढुंगा पार गरेका थिए । उनको करियरमा फ्रिकिकबाट यो ५७ औँ गोल थियो ।

त्यसपछि दोस्रो हाफमा रोनाल्डोले डिबक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल थपे । ८१ मिनेट खेलेका रोनाल्डो विश्वकीर्तिमानबाट अब मात्र ८ गोल टाढा रहेका छन् ।

इरानका अली देइले मात्र रोनाल्डोभन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् १९९३ देखि २००६ सम्म उनले १०९ गोल गर्न सफल भएका थिए ।

रोनाल्डोभन्दा पछि भारतका सुनिल क्षेत्री (७२ गोल) र अर्जेन्टिनाका लियोनेल मेस्सी (७०) गोल रहेका छन् ।

रोनाल्डोले अधिकांश गोल आफ्नो ३० औँ जन्मदिनपछि गरेका छन् । उनले यसक्रममा ४७ खेलमा ४९ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस