स्वास्थ्य मन्त्रालय बाहेकका स्वास्थ्य परिक्षणलाई मान्यता नदिने बीमा कम्पनीको माग अमान्य

सफल खबर संवाददाता

सोमबार, २२ भदौ २०७७, ०७ : २०
स्वास्थ्य मन्त्रालय बाहेकका स्वास्थ्य परिक्षणलाई मान्यता नदिने बीमा कम्पनीको माग अमान्य

प्रतिकात्मक फोटो

काठमाडौं । वित्तीय क्षेत्रका कर्मचारीहरुको संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले कोरोना बीमाको मागदाबी भुक्तानी बारेको अन्यौल ‘घाँटी नहेरी हाड निल्न खोज्दाको परिणाम’ भएको टिप्पणी गरेको छ ।

आइतबार विज्ञप्ती जारी गर्दै फियनले स्वास्थ्य मन्त्रालय अन्तर्गत बाहेकका संस्थाबाट गरिएको स्वास्थ्य परीक्षणलाई मान्यता नदिने बीमा समितिको निर्णयबारे ध्यानाकर्षण भएको जनाउँदै यो निर्णयले बीमा व्यवसायप्रति आम नागरिकको विश्वसनीयता नै गुम्ने दाबी गरेको छ ।

नियामक निकायबाटै यस्तो अव्यवहारिक तथा अदुरदर्शी निर्णयलाई हुन नहुने जनाउँदै संघले सो निर्णय तत्काल फिर्ता लिई बीमा क्षेत्रको विश्वसनीयता गुम्न नदिन ध्यानाकर्षण गराएको छ । 

२० वटा बीमा कम्पनीबाट करिब साढे ९ लाख बीमितले बीमा गराएर ५३ करोड भन्दा बढी रकम संकलन गरिसकेको अवस्थामा गत बुधबारसम्म १ हजार ५ सय २५ जनाले बीमा दाबी गर्दा २ सय ६९ जनालाई २ करोड ५९ लाख मात्रै भुक्तानी दिएकोमा अझै ११ करोड ८४ लाख रुपैंया भुक्तानी दिन बाँकी रहेको अवस्थामा गरिएको सर्कुलरले बीमितहरुलाई दाबी भुक्तानी गर्न थप जटिल अवस्था सिर्जना भएको निष्कर्ष संघको छ ।

प्रतिक्रिया दिनुहोस