सुशान्त सिंह राजपूत मृत्यु प्रकरण :  नायिका रिया चक्रवर्तीका भाई शौविक र सुशान्तका म्यानेजर पक्राउ

सफल खबर संवाददाता

शनिबार, २० भदौ २०७७, ०९ : ०१
सुशान्त सिंह राजपूत मृत्यु प्रकरण :  नायिका रिया चक्रवर्तीका भाई शौविक र सुशान्तका म्यानेजर पक्राउ

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा छानविन गरिरहेको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)को टोलीले नायिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्त सिंह राजपूतका म्यानेजर रहेका सैमुएल मिरान्डालाई  पक्राउ गरेको छ ।

सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान सीबीआई लगायत अन्य जाँच एजेन्सीले गरिरहेको छ तर यो गिरफ्तारी एनसीबीले ड्रग्सको लेनदेनका विषयमा गरेको हो । सीबीआईको जाँचमा ड्रग्सको कारोबारमा जोडिएका केही नाम सार्वजनिक भएका थिए र लगत्तै एनसीबीले छानबिन अघि बढाएको थियो ।

एनसीबीले छानबिनका क्रममा ड्रग्सको कारोबारमा जोडिएका केही व्यक्तिहरुसँग सोधपुछ गरेको थियो र केहीलाई हिरासतमा समेत लिएको थियो । यो सोधपुछमा शौविक र सैमुएलको नाम समेत जोडिएपछि  एनसीबीले दुवैको घरमा खानतलासी गरेको थियो ।

एनसीबीले शौविक चक्रवर्तीको घरबाट ड्रग्स लगायतका सामग्री फेला नपरेपनि ल्यापटप र अन्य दस्तावेज भने सीज गर्दै लगेको छ ।  गत जुन १४ तारिखमा सुशान्त सिंह राजपूत मुम्बई स्थित आफ्नो घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस