जनताको दुःखमा सरकार साथमा छ : गृहमन्त्री बादल

रासस

शुक्रबार, १९ भदौ २०७७, १६ : ०२
जनताको दुःखमा सरकार साथमा छ : गृहमन्त्री बादल

बागलुङ । गृहमन्त्री रामबहादुर थापा 'बादल' ले ढोरपाटनका बाढी प्रभावितहरुलाई राहत सामग्री प्रदान गरेका छन् । उनले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गरेका छन् । गृहमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो । 

बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेण्ट, म्याटलगायतका सामग्री वितरण गरिएको हो। राहत वितरणपछि बोल्दै गृहमन्त्री थापाले बाढी प्रभावितहरुको राहत र पुनःस्थापनामा सरकारले सघाउने बताएका छन् । 

“जनताको दुःखमा सरकार साथै रहेको उल्लेख गर्नुभएको छ”, उनले भने । गृहमन्त्री थापाले बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले दुई लाखका दरले राहत प्रदान गर्ने बताए । यस्तै, पूर्णरुपमा क्षति भएका घरको पुनः निर्माणका लागि तीन लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको सांसद् पौडेलले बताए । उनले बाढीले क्षतिग्रस्त बनाएको सालझण्डी–ढोरपाटन सडकको मर्मत र स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्ने बताए । उनले बाढीले सडक, पुललगायत भौतिक संरचनामासमेत ठूलो क्षति पुगेकाले तिनको पुनःनिर्माणमा सबैको हातेमालो चाहिने उल्लेख गरे ।  

बिहीबार राहत सामग्रीसहित गृहमन्त्री सवार नेपाली सेनाको हेलिकप्टर मौसम खराबीका कारण बीचबाटै फर्केको थियो । शुक्रबार पुनः नेपाली सेनाकै हेलिकप्टरबाट गृहमन्त्रीसहितको टोली राहत लिएर ढोरपाटन पुगेको हो । बुधबार राति भुजीखोलामा आएको बाढीका कारण ढोरपाटन नगरपालिका–९, ८ र ७ मा ठूलो धनजनको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस