कोरियामा पहिलो पटक नेपालीमा कोरोना देखियो, एकैपटक १८ जना संक्रमित

रासस

विहीबार, १८ भदौ २०७७, १८ : ४४
कोरियामा पहिलो पटक नेपालीमा कोरोना देखियो, एकैपटक १८ जना संक्रमित

सउल । दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा सङ्क्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।

कम्पनीमा कार्यरत २० वर्षीया नेपाली युवतीले आफूलाई असहज महसुस गरेपछि कोरोना परीक्षा गराएकी थिइन् । परीक्षणपछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यको पनि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित १८ जनाकै उपचार भइरहेको र उनीहरूसँगै काम गर्ने तथा सँगै बस्ने अन्य २६ जनालाई आइसोलेशनमा राखिएको छ । उनीहरूसँंग सम्पर्क भएको भनिएका १३१ जनाको पनि परीक्षण भइरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।