हेटौँडामा पहिलो पटक आँखाको नानी संकलन, स्वर्गीय श्रेष्ठ बने पहिलो आँखा दानकर्ता

सोमबार, २१ फागुन २०७४, १८ : ५०
हेटौँडामा पहिलो पटक आँखाको नानी संकलन, स्वर्गीय श्रेष्ठ बने पहिलो आँखा दानकर्ता


मकवानपुर । मकवानपुरको हेटौँडामा पहिलो पटक आँखाको नानी संकलन गरिएको छ । हेटौँडा ४ निवासी विकाश श्रेष्ठ र प्रकाश श्रेष्ठले आफ्ना पिता स्वर्गीय रामकृष्ण श्रेष्ठको आँखाको नानी दान गरेका हुन् ।  आँखाको नानी दान गरेसँगै स्वर्गीय श्रेष्ठ, हेटौँडामा नै आँखा दान गर्ने मकवानपुरको पहिलो व्यक्ति बनेका छन् ।

मानिसको मृत्यु पश्चात जलेर खरानी हुने आँखाको नानी दान गरी दृष्टि विहिनहरुलाई दृष्टि प्रदान गर्न लायन्स क्लव अफ ईन्टेलेक्टुअलका अध्यक्ष गणेशकुमार श्रेष्ठको सल्लाह अनुसार आफ्नो आमाको स्वीकृती लिएर स्वर्गीय पिताको आँखाको नानी दान गरेको स्वर्गीय श्रेष्ठका जेष्ठ सुपुत्र विकास श्रेष्ठले बताए । पिताले बितेर जाँदा पनि पूण्यको काम गरेकोमा आफुहरु खुशी रहेको समेत उनले सुनाए ।

हेटौडा सामुदायिक आँखा अस्पतालका प्राविधिकले नानी संकलन गरी अस्पतालमा राखिएको जनाइएको छ । उक्त नानी आवश्यक अन्य दृष्टिविहिनहरुलाई प्रत्यारोपण गर्न तिलगंगाा आँखा प्रतिष्ठान काठमाण्डौमा लगिने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस