क्याबिनेट हेरफेर गर्न प्रधानमन्त्री ओलीले थाले तीन विकल्पमा परामर्श

सफल खबर संवाददाता

सोमबार, १५ भदौ २०७७, ०९ : ०७
क्याबिनेट हेरफेर गर्न प्रधानमन्त्री ओलीले थाले तीन विकल्पमा परामर्श

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २०७४ फागुन ३ बाट सरकारको नेतृत्व सम्हालेका छन् । झण्डै झण्डै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट उनको राजीनामा अन्य नेताहरुले माग पनि गरे । तर अन्तिममा उनको प्रतिनिधीसभाको बाँकी कार्यकाल समेत सरकारको नेतृत्व गर्ने गरी नै सत्ता संकट टरेको छ । तर उनको सत्ता संकट टर्दै गर्दा उनकै क्याबिनेटमा रहेका केही मन्त्रीहरुको भने पद धरापमा पर्दैछ । अर्थात उनले अब पार्टीका नेताहरुसँगको परामर्शका आधारमा मन्त्रिमण्डल भने हेरफेर गर्नेपर्ने भएको छ । 

उनले अबको एक साताभित्रै आफ्नो क्याबिनेट हेरफेर गर्ने अन्तिम तयारी गरिरहेका छन् । त्यसको समिक्षामा उनी जुटिसकेको उनले एक टेलिभिजनलाई दिएको अन्र्तवार्ताका क्रममा पनि बताएका छन् ।  पार्टीभित्रको विवाद सल्टाउन समस्या सुझाव कार्यदलले पनि सरकारको कामलाई प्रभावकारीता बनाउन मन्त्रीपरिषद् पूर्नगठन गर्ने सुझाव दिएपछि प्रधानमन्त्री आफ्नो क्याबिनेट हेरफेरको आन्तरिक तयारीमा लागेका हुन् । 

कार्यदलले दिएको प्रतिवेदनमा भनिएको थियो :
सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने । सचिवालयका सदस्य कमरेडहरुको सुझाव, अध्यक्षद्दयको आपसी परामर्श र सहमति तथा सम्वैधानिक ब्यवस्था, कानुनी प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्री परिषद् र प्रदेश मन्त्रिपरिषद्को पूर्नगठन र राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने । मन्त्री परिषद् पूर्नगठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुने गरी मापदण्ड निर्धारण गर्ने । 

ओलीको इच्छा , अनिच्छाले भन्दा पनि पार्टीभित्र उनको कार्यशैली र ब्यवहारका कारण उत्पन्न संकट टार्नका लागि पनि उनले अहिले मन्त्रिपरिषद् पूर्नगठन गर्नुपर्ने बाध्यता आईलागेको छ । उनका प्रिय मन्त्रीहरु क्याबिनेटमा रहेपनि परिस्थितीजन्य राजनीतिक कारणले पनि ओलीले अब क्याबिनेट पर्नूगठन गर्नुपर्ने भएको छ । त्यही भएर उनले अध्यक्ष प्रचण्डसँग गत भदौं ९ र १२ गते कार्यदलले प्रतिवेदन बुझाएपछि भएको छलफलमा कसरी पर्नूगठनको गृहकार्य गर्ने भन्ने अनौपचारिक छलफल शुरु गरिसकेका छन् । अब १८ गते नेकपा कार्यदलले दिएको प्रतिवेदनमा टेकेर सचिवालय बैठकमा छलफल गर्ने तयारी गरेको छ । 

त्यसका लागि ओलीले अहिले भित्री रुपमा क्याबिनेट हेरफेरका विषयमा छलफल गरेका हुन् । बालुवाटार स्रोतका अनुसार उनले क्याबिनेट पूर्नगठन र हेरफेरका लागि अहिले तीन वटा विषयमा परामर्श गरिरहेका छन् । पहिले नीतिगत रुपमा कसरी क्याबिनेट रिफर्म गर्ने भन्ने टुंगो लगाएपछि क्याबिनेटमा लाने पात्र कसलाई अगाडी बढाउने भन्नेमा छलफल गरेर मन्त्रीमण्डल हेरफेर गर्ने ओलीले तयारी थालेका छन् । 

ओलीले गरिरहेका परामर्श तीन थरी रहेको स्यवं प्रधानमन्त्रीले पनि खुलाएका छन् । ओलीले भनेका छन्,  क्याबिनेट पूर्नगठन आवश्यकताले गरिने हो । त्यसमा म विचार गर्दैछु, हेर्दैछु, समिक्षा गर्दैछु । यो प्रधानमन्त्रीले मुख्य रुपमा विचार गर्ने कुरा हो । त्यसो हो भने प्रधानमन्त्रीले नीतिगत रुपमा के कस्तो सोचिरहेका छन् त ? प्रधानमन्त्री निकट स्रोतका अनुसार, उनले तीन थरी रुपमा छलफल थालेका छन् । 

पहिलो, पूरानै टिमलाई लिएर खाली रहेका सञ्चार, सहरी विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्ने, दुई ओटा मन्त्रालय फुटाएर थप दुई मन्त्री पनि थप गर्ने र आवश्यक परे अहिले रहेका र थपिने चार मन्त्रीको कार्यक्षेत्र अर्थात जिम्मेवारी चही हेरफेर गर्ने । उहाँ यो विकल्पमा पनि छलफलमा हुनुहन्छ , उहाँले त्यही भएर अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नै दोहोराउन चाहेका हुन् । राष्ट्रिय सभामा खतिवडालाई नै दोहोराएर लैजाने र मन्त्रीहरुलाई यथावत बनाएर लैजाने । यो विकल्पमा पार्टीभित्रै सहमति बन्ने सम्भावना कमै छ । तर ओली भन्दैछन्, प्रधानमन्त्रीले सरकारको प्रभावकारीताका लागि के गर्दा उपयुक्त हुन्छ, त्यो प्रधानमन्त्रीले विचार विर्मश गर्ने कुरा हो । 

दोश्रो, आंशिक हेरफेर गर्ने । रिक्त रहेका मन्त्रालय र केही आंशिक काम देखाउन नसकेका मन्त्रीलाई हटाएर नयाँ केही नेताहरुलाई लिएर क्याबिनेट आंशिक परिवर्तन गर्ने । त्यसो गर्दा अहिले कायम रहेका मन्त्रीमण्डलबाट ८ देखि ११ जना मन्त्रीहरुलाई झिकेर त्यसमा नयाँ नेताहरुलाई जिम्मेवारीमा लैजाने गरी यो विकल्पमा पनि प्रधानमन्त्री ओलीले आन्तरिक परामर्श गरिरहेको बालुवाटार स्रोतले बतायो । 

तेश्रो, पूरै टिम फेर्ने र नयाँ टिमलाई लिएर काम गर्ने । ओलीले आफनो क्याबिनेटमा आफु वाहेकका सवै पूराना र अहिले काम गरिरहेका मन्त्री, राज्यमन्त्रीलाई बिदाई गर्ने । नयाँ नेताहरुको पूरै टिम लिएर सरकार गठन गर्ने । नयाँ टिम लिएर आगामी दुई वर्षमा कामलाई प्रभावकारी र गतिशिलतामा काम गर्न सकिन्छ की भन्ने सोचमा पनि प्रधानमन्त्री ओली देखिएका छन् । 

उहाँ तीन विकल्पमा छलफलमा हुनुहुनछ, अर्का अध्यक्ष प्रचण्डसँग यस बारेमा अनौपचारिक छलफल गरिरहनुभएको छ, अब सचिवालयका अन्य सदस्यहरुसँग पनि छलफल गर्ने सोचमा हुनुहुन्छ, प्रधानमन्त्री निकट ति नेताले सफलखबरसँग भने, अव केही दिनभित्रै नीतिगत रुपमा कसरी क्याबिनेट पूर्नगठन गर्ने भन्ने एउटा टुंगोमा उहाँ (प्रधानमन्त्री) पुग्नुहुन्छ, त्यसपछि मात्र कुन मन्त्रालयमा कसलाई जिम्मेवारी दिने भन्नेमा प्रधानमन्त्रीले छनौट गर्ने तरिका अवलम्वन गर्नुहुन्छ । 

ओलीले अहिले छलफल गरिरहेका तीन विकल्प मध्ये पूरै टिम फेर्ने भन्दा पनि बढीमा ११ जना सम्म मन्त्रीलाई अहिलेको क्याबिनेटबाट झिक्ने र त्यसमा नयाँ मन्त्री पठाउने, २ रिक्त सहित थप दुई मन्त्रालय टुक्राएर अर्का ४ गरी १५ जना सम्म नयाँ मन्त्री लिएर क्याबिनेट रिफर्म गर्ने गरी अगाडी जान खोजेको बालुवाटार निकट स्रोतको भनाई छ । 

सरकार पूर्नगठन हुने भएपछि अहिले मन्त्रीका आकांक्षीहरु तिव्र लविङमा पनि लागिसकेका छन् । खासगरी दोश्रँो तहका प्रभावशाली नेताहरु अहिले सरकारमा जान निक्कै लालायित देखिएका छन् । ओलीले पार्टीभित्र देखा परेको विवादमा समाधान हनुे गरी शक्ति सन्तुलन कायम राख्दै भागवण्डाका आधारमा नै सरकार हेरफेर गर्ने तयारी गरिरहेका छन् । त्यो दबाबमा ओली छन् । 

प्रतिक्रिया दिनुहोस