चितवनमा कोरोनाको कहर बढ्दै, एकैदिन तीन जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १२ भदौ २०७७, १५ : ५९
चितवनमा कोरोनाको कहर बढ्दै, एकैदिन तीन जनाको मृत्यु

चितवन । कोरोना भाइरसको संक्रमणले चितवनमा एकैदिन तीन जनाको ज्यान गएको छ । पुष्पाञ्जली अस्पतालमा एक, भरतपुर अस्पतालमा एक र चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो । 

कोरोनाबाट पुष्पाञ्जली अस्पतालमा मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा हेटौडा उपमहानगरपालिका १९ का ७१ वर्षीया महिला र भरतपुर अस्पतालमा आबुखैरहनी १३ गोरखाका ३८ वर्षका पुरुषको मृत्यु भएको हो । 

क्षेत्रपुरका ५१ वर्षीय पुरुषलाई भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि नै अस्पतालले उनको अवस्था गम्भीर रहेको जनाएको थियो । 

चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार हेटौँडाकी वृद्धा श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ७ गते अस्पताल भर्ना भएकी थिइन् । उनको भदौ ९ गते सङ्क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

यस्तै, भरतपुर अस्पतालमा कोरोनाका कारण आज दिउँसो गोरखाका ३८ वर्षका पुरुषको आईसियूमा उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनी भदौं ६ गते भरतपुर अस्पतालको भर्ना भएका थिए । भदौ १० गते कोरोना पुष्टि भएको थियो ।  

आइसियूमा उपचारको क्रममा आज उनको निधन भएको हो । कोरानाले हालसम्म चितवनमा जिल्लाभित्रका चार जना नागरिकको निधन भएको छ । कोरोनाका कारण चितवनका विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्ला बाहिरका पाँच जनाको पनि मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस