चितवनमा नौ सय टन युरिया मल आउँदै, शुक्रबारदेखि बिक्री गरिने

प्रकाश सिग्देल

बुधबार, १० भदौ २०७७, १४ : २९
चितवनमा नौ सय टन युरिया मल आउँदै, शुक्रबारदेखि बिक्री गरिने

– प्रकाश सिग्देल
चितवन । बजारमा अभाव रहेको युरिया मल ९ सय मेट्रिक टन चितवनमा आउने भएको छ । 

वीरगन्ज भन्सारमा मल आएको र बिहीबार लोड भई शुक्रबार मल गोदाममा आइसक्ने साल्ट ट्रेडिङ कर्पोरेशन चितवनका प्रमुख बुद्धिबिनोद दाहालले बताए । अहिले पहिलो चरणमा ९ सय मेट्रिक टन मल आउने र त्यो मल चितवन, नवलपुर र गोरखाका लागि वितरण गरिने कार्यालय प्रमुख दाहालले बताए । 

पहिलो चरणमा आउने मलमध्ये २ सय ५६ मेट्रिक टन मल चितवनका किसानलाई बाँडिने र बाँकी मल गोरखा र नवलपुरका किसानले पाउने उनको भनाई छ । चितवनको हकमा कृषि ज्ञान केन्द्र चितवनको सिफारिसका आधारमा मलको कारोबार गर्ने अनुमति पाएका १ सय ३५ वटा सहकारीमार्फत मल वितरण हुने दाहालले बताए । 

चितवनका लागि बार्षिक २ हजार मेट्रिक टन मल साल्ट ट्रेडिङले बिक्री गर्ने गरेको र  अहिलेको मलले किसानको तत्कालको समस्या समाधान भएपनि मलको अभाव भने पूर्ति नगर्ने उनी बताउँछन् । मल आउनासाथ सहकारीमार्फत किसानलाई बितरण गरिने दाहालले बताए ।  

साल्ट ट्रेडिङ कर्पोरेशनको २ हजार ५ सय टन युरिया मल मंगलबार वीरगन्ज आइपुगेको र आज भन्सार पास गरेर भोलिबाट किसानलाई वितरण गरिने कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले बताए ।

कृषि मन्त्रालयको समन्वयमा मोरङ, सुनसरी, झापा, राजविराज, चितवन नवलपुर, कास्की, रौतहट, सिन्धुली, गोरखा, मकवानपुर लगायतका १० जिल्लामा वितरण गरिने कर्पोरेशनले जनाएको छ । कर्पोरेशनको ३२ हजार १ सय टन युरिया मल कलकत्तामा लकडाउनका कारण ३ महिनादेखि अड्किएको थियो । भारतमा लकडाउन खुकुलो भएसँगै मल नेपाल भित्रिन सुरू गरेको हो ।

मल ल्याउने प्रमुख जिम्मेवारी पाएको निकाय कृषि सामग्री कम्पनी लिमिटेडमा भने अझै केही समय मल आउने छन्द देखिएको छैन । मल तत्काल आउने जानकारी अहिलेलाई नभएको कृषि सामग्री कम्पनी लिमिटेड चितवनका प्रमुख रबिन्द्र गौतमले बताए ।

५० हजार मेट्रिक टन मल खरिद प्रक्रिया पूरा भएर चीनबाट ल्याउने तयारी हुँदै गर्दा लकडाउनका कारण तीन महिनादेखि ढुवानीमा समस्या हुँदा आउन नसकेको उनले बताए । चितवनमा बार्षिक १० हजार मेट्रिक टन युरिया मल खपत हुने गरेको उनको भनाई छ ।

युरियाको प्रयोग घटाउन सुझाव

कृषि सामग्री कम्पनी लिमिटेड चितवनका प्रमुख रबिन्द्र गौतम युरियाको प्रयोग घटाउनु पर्ने बताउँछन् । सारा विश्वले नै युरिया अर्थात् नाईट्रोजनको  उत्पादन र प्रयोग घटाएकोले नेपालमा पनि अब यसको प्रयोग क्रमशः घटाउँदै लैजानु पर्ने उनको सुझाव छ । 

जापान, कोरिया, अमेरिका लगायतका देशले नाइट्रोजन प्रयोग गर्न छाडिसकेको, भारतले पनि यसको प्रयोग ५० प्रतिशतमा झारेको हुँदा अब यसको प्रयोग घटाउँदै अर्गानिक उत्पादनमा जोड दिँदै नयाँ पुस्तालाई उर्वराशक्तियुक्त माटो हस्तान्तरणको अभियानमा लाग्नु पर्ने गौतम बताउँछन् ।

बिरुवाले १३ वटा खाद्य तत्व माटोबाट लिने, बाँकी तीन वटा तत्व घाम, हावा र पानीबाट लिने हुँदा माटोबाट लिने खाद्य तत्व नै खराब परेपछि उत्पादन पनि स्वस्थ्यकर नहुने र माटो पनि बिग्रिने उनको भनाई छ ।

बाली हुर्काउन नाईट्रोजन अर्थात् युरियाको भूमिका बिरुवा हुर्काउने मात्रै भएको र फलाउनेमा यसको भूमिका कम हुने  र माटोको उर्वराशक्ति नष्ट गर्ने भएकाले यसको प्रयोग घटाउनु नै सबैभन्दा उत्तम विकल्प भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस