कोरोना कहरमा पनि दलहरू किन उदासीन ?

पत्रपत्रिकाबाट

शुक्रबार, ०५ भदौ २०७७, ०८ : ५२
कोरोना कहरमा पनि दलहरू किन उदासीन ?

काठमाडौं । नेकपाको हातमा राज्यसत्ताको बागडोर छ। केन्द्र मात्र होइन, ६ प्रदेशका सरकार, ४ सय २ स्थानीय सरकारको नेतृत्व नेकपाले गरिरहेको छ। नेकपा नेताहरूले ८ लाख पार्टी सदस्य रहेको दाबी गरिरहेका छन्। यति ठूलो संयन्त्र र सञ्जाल भएको सत्तारूढ पार्टी र यसका नेतारकार्यकर्ता प्राकृतिक विपत्ति, महामारीजस्ता अवस्थामा जनताको मन जित्न केन्द्रित हुनुपर्ने हो । तर, नागरिकसँग जोडिने र महामारीबाट मुक्ति पाउनेतिर ध्यान देखिएको छैन।

पार्टी बैठकमा यो विषयमा छलफल गरेकै देखिएन। असार १० देखि बसेको स्थायी समिति बैठकमा कोभिड रोकथाम तथा नियन्त्रण एजेन्डासम्म बनेको थियो। तर, यो एजेन्डामा छलफल हुनै पाएन। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिने कि नदिने भन्नेतिर मोडिन पुग्यो बैठक। सचिवालय बैठक सोमबार पनि बस्यो । त्यहाँ पनि कोभिड केन्द्रित छलफल भएन। सत्तारूढ पार्टीको बैठक आन्तरिक किचलोमै केन्द्रित रह्यो। प्रधानमन्त्रीदेखि पार्टीका अन्य नेताको ध्यान ‘घरझगडा’ कसरी मिलाउने भन्नेमै न्द्रित भइरहेका छन् ।

नेकपासँग प्रतिनिधिसभामा सभामुखसहित १ सय ७४ सांसद छन्। राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षसहित ४९ सांसद छन्। ५ सय ५० प्रदेश सांसदमध्ये ३ सय ५० जना नेकपाकै छन्। स्थानीय तहमा पनि नेकपाका जनप्रतिनिधिकै बाहुल्य छ । ७ सय ५३ स्थानीय तहका झन्डै ३५ हजारभन्दा बढी जनप्रतिनिधिमा १९ हजारभन्दा बढी नेकपाका छन् । ४ सय २ स्थानीय तहका अध्यक्षरप्रमुख नेकपाले जितेको छ। ४ सय ४१ जनाको केन्द्रीय समिति छ। वडाको सेल कमिटीदेखि केन्द्रसम्म नै पार्टी संगठनको सञ्जाल छ। २२ वटा जनवर्गीय संघ संगठन छन्। 

तर, नेकपाले योजनाबद्ध रूपमा पार्टी नेता–कार्यकर्ता कोभिड महामारी नियन्त्रण तथा रोकथाममा परिचालन गर्न सकेको छैन। बरु उल्टै एकअर्को नेताविरुद्ध आरोपरप्रत्यारोपमा सडकमा आफूनिकट कार्यकर्ता प्रदर्शनमा उतार्ने र कोभिडको जोखिम बढाउने काममा नेकपा देखिन पुग्यो । 

महासचिव विष्णु पौडेल भने कार्यकर्तालाई परिस्थितिअनुसार स्वयंसेवी बनाउँदै परिचालन गरिएको बताउँछन्। ‘पार्टी पंक्ति परिचालन भइरहेकै छ। कोरोना विश्वलाई नै नयाँ विषय भएको, त्यसको ज्ञान नभएको अवस्थामा त्यसलाई परिस्थितिको काबुमा राख्दै पार्टी पंक्तिले आफ्नो तर्फबाट काम गरिरहेकै छ’, महासचिव पौडेल भन्छन्। 

उनका अनुसार नेकपाका नेता कार्यकर्ता जनचेतना अभिवृद्धि गर्न स्वयंसेवीको भूमिका परिचालित छन्। ‘कोभिडबारे जनतालाई सचेतनामूलक जानकारी दिने, स्पष्ट पार्ने काम पार्टीले गरिरहेको छ’, उनी भन्छन्, ‘अर्को, क्वारेन्टाइन, आइसोलेसन सेन्टर निर्माणको काम, कोभिड संक्रमण देखिएकाहरूलाई अस्पतालसम्म उपचारमा पठाउन स्वयंसेवीको काममा अहिले नेकपाका नेता कार्यकर्ता आआफ्नो तहमा परिचालन भइरहनु भएको छ।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस