अब ‘क्वारेन्टाइन नै आइसोलेसन’

पत्रपत्रिकाबाट

शुक्रबार, ०५ भदौ २०७७, ०७ : ५५
अब ‘क्वारेन्टाइन नै आइसोलेसन’

काठमाडौँ । काठमाडौँ उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा भक्तपुरको खरिपाटीमा निर्माण गरिएको क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गरिसकिएको छ । अब क्रमिक रूपमा सबै नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनलाई आइसोलेसन बनाइने भएको छ ।

उपत्यकामा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइनले मात्र काम नगर्ने र निश्चित सङ्ख्यामा नियमित परीक्षण गर्ने सहितको आइसोलेसन कक्ष आवश्यक पर्ने उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणमा भक्तपुरबाट सुरु गरिए पनि क्रमिक रूपमा उपत्यकाका सबै नगरपालिकाभित्र आइसोलेसन कक्ष निर्माण गरिने बताउनुभयो । अहिले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा तीन सय बेड र भक्तपुर अस्पतालमा २५ बेडका आइसोलेसन कक्ष छन् ।

खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा भएका सबै क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्न लागिएको छ । उक्त कार्यका लागि भक्तपुरका चारवटै नगरपालिकाको लागत साझेदारीमा आइसोलेसन निर्माण गर्न लागिएको हो ।
उपत्यकामा दैनिक बढ्दै गएको कोरोना भाइरस नियन्त्रण गर्न सबै नगरपालिकाले एकीकृत कार्ययोजना निर्माण गर्नुपर्नेमा उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख सहमत छन् ।

चिकित्सकको व्यवस्था गरिने
काठमाडौँ उपत्यकामा बढ्दो कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था गम्भीर बन्दै गए प्रत्यक्ष चिकित्सकको निगरानीमा आइसोलेसन अत्यावश्यक भएको उपत्यका नगरपालिका फोरमले जनाएको छ । फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यकामा बढ्दै गएको कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था हेरचाहका लागि हाल भएका आइसोलेसनले नपुग्ने भएकाले सबै नगरपालिकाभित्र आइसोलेसन निर्माण गर्ने गरी आन्तरिक तयारी भएको छ ।

उहाँले ललितपुर महानगरले दुई स्थानमा बनाएको ५२ बेडको क्वारेन्टाइन आफैँमा आइसोलेसनजस्तै भएकाले यसलाई थप गरेर दुई सय बेड बनाउने तयारी भएको बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस