उपप्रधानमन्त्री इश्वर पोखरेलमाथी कड्किए पर्यटनमन्त्री योगेश भट्टराई

कोभिड १९ संकट ब्यवस्थापन सेन्टर (सीसीएमसी) बैठकमा पर्यटनमन्त्री योगेश भटटराईले उपप्रधानमन्त्री इश्वर पोखरेललाई लक्षित गदै भने,–‘यहीँभित्रबाट कसले षड्यन्त्र गर्दैछ ? मनलाग्दी निर्णय आफै गर्दै हिड्ने ?’

सफल खबर संवाददाता

बुधबार, ०३ भदौ २०७७, १० : ४८
उपप्रधानमन्त्री इश्वर पोखरेलमाथी कड्किए पर्यटनमन्त्री योगेश भट्टराई

काठमाडौं । केपी ओली नेतृत्वको सरकारका प्रभावशाली दुई मन्त्रीका बीचमा फेरि खटपट देखिएको छ । खटपटका पात्र भने एक जना उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेल हुन भने अर्काे पात्रमा यसपटक अर्का मन्त्री देखिएका छन् । केही समय अगाडी उनै पोखरेलसँग अर्का मन्त्रीको खटपट परेको थियो । कोरोना महामारीसँग जुध्न ओलीले कमाण्डर तोकेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको कमजोर कमाण्डका कारण सरकारमै रहेका मन्त्रीहरुका बीचमा खटपट हुन थालेको हो ।

मंगलबार मात्रै पनि कोभिड १९ संकट ब्यवस्थापन सेन्टर (सिसिएमसी) को बैठकमा पोखरेल र पर्यटन मन्त्री योगेश भट्टराइबीच खटपट देखिएको हो ।  निहित स्वार्थका लागि मरिहत्ते गर्ने र आर्थिक रुपमा अपारदर्शी बन्दै आएको आरोप उपप्रधानमन्त्री पोखरेलमाथी लाग्दै आएको छ । ओलीले कोराना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको संयोजक पोखरेललाई बनाएपछि यस अगाडी ओम्नीलाई औषधी खरिदको जिम्मा दिने विवादास्पद निर्णय र ओम्नीलाई खरिद जिम्मा दिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथी बढाएको दबाबका कारण केही समय अगाडी ढकालसँग पनि पोखरेलको खटपट देखिएको थियो ।

तर मंगलबार भने फेरि अर्का मन्त्री योगेश भटटराईसँग उनको खटपट भएको हो । पोखरेल र भट्टराईका बीचको खटपटको प्रसंग भने विदेशवाट उद्दार गरि ल्याइने नेपालीका विषयमा परेको हो । विदेशमा रहेका नेपालीलाई उद्दार गरी ल्याउने निर्णय कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले नेपालमा संक्रमण बढेको र होटल क्वारेन्टिनको व्यवस्था नभएको भन्दै उद्धार उडान स्थगित गर्ने निर्णय गरेको थियो ।

त्यो निर्णय भएको जानकारी सीसीएमसीले संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई भदौं १ मा पत्रमार्फत जानकारी गराएको थियो । सहसचिव विष्णु राज ढकालले पर्यटन र परराष्ट्र मन्त्रालयलाई सम्बोधन गरी उद्धार उडान स्थगित गरिएको जानकारीको पत्र पठाएपछि मन्त्री भटटराई आक्रोशित बनेका हुन् । 

(हेर्नुहोस सीसीएमसीले पर्यटन र परराष्ट्र मन्त्रालयलाई पठाएको पत्र)


भटटाई आफै पनि सीसीएमसीको सदस्य छन् । उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा गृहमन्त्री, परराष्ट्रमन्त्री अर्थमन्त्री, पर्यटनमन्त्री , उद्योग वाणिज्य मन्त्री, सुरक्षा निकायका प्रतिनिधीहरु राखेर सरकारले उच्चस्तरीय संन्यत्र भन्दा कार्यक्षेत्रमै कोभिड रोकथाम र नियन्त्रणमा जुट्ने उद्येश्यले कोभिड १९ संकट ब्यवस्थापन सेन्टर (सिसिएमसी) गठन सरकारले गरेको थियो । तर यो निर्णय गर्दा सम्बन्धित मन्त्रालय आफु भएको र आफुसँग कुनै परामर्श बिनै हवाई उद्दार स्थगित गरेको सूचना मन्त्रालयलाई पठाएपछि मात्र जानकारी पाएको भन्दै भट्टराई पोखरेलसँग असन्तुष्ट बनेका थिए  ।

ससिीएमसीको उक्त निर्देशनकै कारण चार्टर फ्लाइटका लागि दुबई पुगेको नेपाल एयरलाइन्सको विमान मंगलबार रित्तै फर्किनु परेको थियो । त्यसपछि मन्त्री भटटराई पोखरेलसँग आक्रोशित बनेका हुन् ।  ‘के आधारमा हवाई उद्दार स्थगितको यो निर्णय गरिएको हो ? हामीसँग सरसल्लाह गर्नु पर्दैन ?’ मन्त्री भटटराईले पोखरेलमाथी प्रश्न गरेको सहभागी एक मन्त्रीले सफलखबरलाई बताए । यात्रु लिन नेपालबाट विमान उडिसकेको र यात्रुहरु विमानस्थलमा आइसकेको अवस्थामा एमसीसीले गरेको निर्णयले सरकारविरुद्ध नाराबाजी गर्ने अवस्था आएको भन्दै भट्टराईले हचुवाका भरमा निर्णय गर्ने काम गरेको, सरकार र आफुलाई असफल बनाउन सरकारभित्रै रहेर यहीभित्रबाट कसैले षडयन्त्र गरिरहेको भन्दै पोखरेलप्रति आक्रोश पोखेका थिए । ‘यहीँभित्रबाट कसले षड्यन्त्र गर्दैछ ? किन यस्तो हुदैछ ?

हामी सम्बन्धित मन्त्रीसँग के गर्दा ठीक के बेठीक भनेर सल्लाह गर्नुपर्दैन ? तपाई आफैले निर्णय लिने हो भने हामीलाई सीसीएमसीमा किन राखेको ? मनलाग्दी निर्णय आफै गर्दै हिडने ?’ बैठकमा भट्टराईले बताएका थिए । होटल क्वारेन्टिनको व्यवस्था गर्ने जिम्मा जिल्ला संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को हो । तर होटलको सूची नै सार्वजनिक नगर्ने र समस्या पैदा गरेर अरु नेतालाई कमजोर बनाउने काममा सरकारमै रहेका मन्त्रीहरु लागेको आरोप भट्टराईको थियो । भट्टराई सीसीएमसीको अनौपचारिक बैठकमा कड्किएपछि सीसीएमसी निर्देशक समितिका संयोजक एवं रक्षामन्त्री ईश्वर पोखरेलले भने समन्वय नहुनु कमजोरी भएको बताएका थिए ।

पर्यटनमन्त्री भट्टराईले अहिले पनि निश्चित देशबाट नियमित उडान गरेर नेपालीहरुलाई ल्याउन सकिने बताएका थिए । पीसीआर टेष्ट गर्न सकिने देशहरु मलेसिया, यूएई, जापान, दक्षिण कोरिया जस्ता मुलुकबाट सातामा एउटा उडान गर्ने र नेपाल आएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा अनिवार्य बस्ने व्यवस्था गर्न सकिने उनको भनाई थियो । पोखरेलको स्वभाव आफै सबै निर्णय एकलौटी गर्ने खालको छ । आफुलाई लागेपछि उनले जे सुकै निर्णय पनि गराउन लागि पर्ने गरेका छन् । 

आर्थिक रुपमा क्लिन नदेखिएका मन्त्री पोखरेलले कोभिडलाई आर्थिक लाभहानीको विषय बनाएको आरोप पनि लागिरहेको छ । स्वास्थ्य खरिदमा ओम्नीलाई उनकै निर्देशनमा औषधी खरिद सम्झौता गर्न स्वास्थ्यमन्त्री ढकाललाई दबाब दिएका थिए । यो प्रकरणमा अहिले संसदको लेखा समितिले छानविन गरिरहेको छ । स्वास्थ्यमन्त्रीलाई अनावश्यक दबाब दिएर उनले ओम्नीलाई खरिदको जिम्मा दिंदा आर्थिक लेनदेन मिलाएको आरोप पोखरेलमाथी छ ।

सिसिएमसीमा उनले लिएको पछिल्लो निर्णयमा पनि योगेशलाई कमजोर बनाउनका लागि नै त्यस्तो निर्णय जानाजान गराएको हुन सक्ने आशंका पनि केही नेकपा नेताहरुले गर्न थालेका छन् । भटटारईले राखेको गुनासो र हवाई उद्दार लगायतका विषयमा भने आजै साँझ ५ बजे प्रधानमन्त्री केपी ओली सहित बस्ने सिसिएमसीको औपचारिक बैठकले निर्णय लिन सक्ने एक मन्त्रीले बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस