अस्पतालहरूमा कोरोना संक्रमित अटाउनै मुस्किल

सफल खबर संवाददाता

बुधबार, ०३ भदौ २०७७, ०७ : ५९
अस्पतालहरूमा कोरोना संक्रमित अटाउनै मुस्किल

काठमाडौँ । लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूलाई चाप थेग्न मुस्किल परेको छ  । उपत्यकाका अस्पतालका व्यवस्थापक तथा चिकित्सकहरूका अनुसार हाल उपलब्ध सबै आइसोलेसन शय्या तथा केही हदसम्म आईसीयू पनि संक्रमितहरूले भरिएका छन् ।

नयाँ थपिने संक्रमितहरूमा कुनै जटिल समस्या देखिए व्यवस्थापन गर्न असम्भव बन्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) स्रोतका अनुसार उपत्यकामा गत साता लक्षणसहितका संक्रमितहरूको संख्या करिब ३० प्रतिशत हाराहारी थियो भने यो साता ४० प्रतिशत हाराहारी पुगेको छ । मुलुकभरमा मंगलबार मात्रै १ हजार १६ जना संक्रमित थपिएका छन् भने काठमाडौं उपत्यकामा २ सय ५ जना नयाँ संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार उपत्यकामा संक्रमित राख्न करिब ६ सय आइसोलेसन शय्या मात्रै उपलब्ध छ । कोभिड–१९ का बिरामीहरूको उपचारका लागि भेन्टिलेटरको सुविधासहितका शय्याको संख्या करिब सय हाराहारी छ । सरकारले देशभरमा उपलब्ध कुल आईसीयू शय्याको संख्या ९ सय ४६ र भेन्टिलेटरको संख्या ४ सय ९६ उल्लेख गरे पनि ती सबै कोभिड–१९ का बिरामीका लागि उपलब्ध हुन सक्दैनन् ।

उपत्यकामा बाहिरबाट पनि संक्रमित उपचारका लागि आउने गरेका छन् । ठूलो संख्यामा कोभिड–१९ का बिरामी उपचार गरिरहेको उपत्यकाको एक सरकारी अस्पतालका चिकित्सकका अनुसार अब भेन्टिलेटर आवश्यक पर्ने बिरामीको व्यवस्थापन गर्न सकिने अवस्था छैन । ‘कहीँ पनि भेन्टिलेटर खाली छैन रे । हाम्रो अस्पतालमा पनि आईसीयूमा भएका जति सबैलाई भेन्टिलेटर चाहिएको छ,’ उनले भने, ‘केही बिरामी यही बीचमा निको भए भने ठीकै छ । नत्र त अब के भनौं ?’

काठमाडौं उपत्यकामा सुरुमा कोरोना संक्रमितको उपचार गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोरोना संक्रमित भरिँदै गएको छ । ‘अरू बिरामीका लागि जस्तो यसमा बेड बढाउन गाह्रो छ । जहाँ पायो त्यही राख्न मिल्दैन । हामीले एउटै रुममा दूरी कायम गरेर बिरामी राख्ने कि भनेर पनि कोसिस गरेका हौं तर आइसोलेसनका बिरामीहरूले नै विरोध गरे,’ अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले भने, ‘त्यसैले हामीले स्ट्यान्डर्ड मेन्टेन गरेर जति सकिन्छ त्यति गरेका हौं । बिरामी व्यवस्थापन गर्न गाह्रो छ । दिनमा कम्तीमा ५–६ जना डिस्चार्ज हुन्छन् तुरुन्त अरू भर्ना भइहाल्छन् ।’

सय शय्या क्षमता भएको टेकु अस्पतालमा हाल संक्रमितको उपचारका लागि ३० वटा आइसोलेसन शय्या र २० वटा आईसीयू शय्या छन् ।‘अहिले त हामीले लक्षण भएकाहरूलाई मात्र लिने गरेका छौं,’ डा। भण्डारीले भने, ‘हामी बेडको क्षमता बढाउन सक्दैनौं । हाम्रो क्षमता, स्रोत, जनशक्ति यति नै हो । यस्ता बिरामी उपचार गर्न निगेटिभ प्रेसर रुम चाहिन्छ जुन अरू अस्पतालमा पनि छैन । त्यसैले पनि स्वास्थ्यकर्मीहरू पनि संक्रमित हुने गरेका छन् । सरकारले यहाँको जस्तो अस्पताल अरूतिर पनि बनाउनुपर्‍यो ।’ कान्तिपुर दैनिकमा खबर छ ।