लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा

सफल खबर संवाददाता

सोमबार, ०९ भदौ २०८२, ०८ : २८
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा

लहान । लहान नगरपालिका–४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार गर्दै आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको छ । करिब छ महिनाअघि अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा प्रारम्भ गरेको थियो । 

अस्पतालका कार्यकारी निर्देशक डा सञ्जयप्रसाद साहका अनुसार मुटु सम्बन्धी सम्पूर्ण परीक्षण प्रयोगशालामा न्यूनतम शुल्कमा सुरुआत गरिएको छ । काठमाडौँको सहिद गङ्गालाल अस्पतालमा रु एक हजार पाँच सय रुपैयाँ पर्ने ‘इको’ परीक्षण यहाँ केवल हजार रुपैयाँमै गरिनेछ । त्यस्तै अन्य शुल्क पनि न्यूनतम रहेको छ । 

हालसम्म दुई हजार तीन सयभन्दा बढी बिरामीहरूले सेवा लिइसकेका छन्, भने दैनिक १० जनाभन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालले नाफा नभइ सेवा लक्षित मोडेलमा काम गरिरहेको छ । “नाफारहित अस्पताल बन्ने भएकाले यहाँका नागरिकले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास लिएका छौँ,” अस्पतालका कार्यकारी निर्देशक डा सञ्जयप्रसाद साहले बताए ।

अहिले दुई भवनमा ओपिडी सेवा चलिरहेको छ, जुन लहान नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक ११ बिघा जग्गामा निर्माण गरिएको हो । डा साहका अनुसार, सो जग्गामै आगामी दिनमा पूर्ण पाँच सय शय्याको अस्पताल निर्माण हुने योजना छ, जसको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । 

अस्पताल प्रशासनले आगामी एक वर्षभित्र २५ शय्याको ‘आईसियू’(सघन उपचार कक्ष) र ‘सिटी स्क्यान’ सहितको सेवा सुरु गर्ने तयारी गरिरहेको छ । ‘कार्डियो र डाइबेटिक सेन्टर’को रूपमा विस्तार हुँदै गरेको यो अस्पतालले स्थानीयहरूलाई अब धरान, विराटनगर वा काठमाडौँ जानु नपर्ने विश्वास दिलाएको छ ।

यो अस्पताल नेपाल हृदय रोग निवारण सङ्घ अन्तर्गत सञ्चालनमा ल्याइएको हो । सङ्घका कार्यकारी अध्यक्ष डा बालकृष्ण ओग्र्यान लहानमै जन्मिएर हाल जर्मनीमा वरिष्ठ मुटुरोग विशेषज्ञका रूपमा कार्यरत छन् । उनकै पहलमा ‘नेपाल मेड ई भि’ र ‘रोटरी क्लब कटबस’ जस्ता दुई जर्मन गैरसरकारी संस्थाबाट करिब रु दुई अर्ब बराबरको आर्थिक सहयोगमा अस्पतालको निर्माण प्रक्रिया अघि बढाइएको हो ।

“यस प्रकारको अस्पतालको अवधारणा डा बालकृष्ण ओग्र्यानका कारण सम्भव भएको हो,” डा सञ्जयप्रसाद साहले भने, “जो यही लहानको भूमिमा जन्मिएर मुटुरोग विशेषज्ञको रूपमा हाल जर्मनीमा कार्यरत रहनुभएको छ ।” अस्पतालका निर्देशक डा साहका अनुसार, आगामी अक्टोबरमा डा ओग्र्यानसहित जर्मनिमा कार्यरत मुटु विशेषज्ञहरूको टोली नेपाल आउने र अस्पतालको प्रगति निरीक्षण गर्नुका साथै प्राविधिक सल्लाह दिनेछ ।

अस्पतालको प्रशासन तथा वित्त शाखा प्रमुख रिना चौधरीका अनुसार विभिन्न सङ्घ संस्था र दाताहरूसँग समन्वयको प्रक्रिया जारी रहेको छ । जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदै उनले अस्पतालसम्मको सडक पूर्वाधार सुधार आवश्यक रहेको बताए । यति न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइदै आएको भए पनि प्रचारप्रसारको अभाव रहेको उल्लेख गर्दै, स्थानीयको साथ, सहयोग र विश्वासले नै अस्पतालको भविष्य उज्ज्वल बनाउने विश्वास पनि उनले व्यक्त गरे ।