उम्मेदवारलाई भोटकाे पिरलाे, मतदातालाई खानेपानी र ओतकाे !

विहीबार, ०७ मंसिर २०७४, ०७ : ०७
उम्मेदवारलाई भोटकाे पिरलाे, मतदातालाई खानेपानी र ओतकाे !

काठमाण्डौ । चुनाव नजिकिएसँगै राजनीतिक दलले आफ्नो प्रचार प्रसारलाई तिब्र पारेका छन् । भोट तान्नकै लागि राजनीतिक दलका नेताले ठाउँठाउँमा फरक–फरक किसिमका आश्वासनहरु पनि दिइरहेका छन् । गुल्मीमा उम्मेदवार प्रायः पुरानै छन् । त्यसैले पनि मतदातालाई सजिलो छ । राजनीतिक दलले विगतका निर्वाचनमा प्रतिबद्धता गरे अनुसार काम गरेनन भन्नको लागि । तर निर्वाचनको शैलि फेर्दै नेताहरु टोलसभा र घरदैलो मार्फत मतदातासँग निकटता गाँसिरहेका छन् ।

सबै पार्टीका राजनैतीक कार्यक्रममा कार्यकर्ता भाषण सुन्न उपस्थित हुदैनन् । पहिले जस्तो भाषण सकिएपछि तालि बजाएर घर फर्कने पनि हैनन् । भोट माग्न ठूलै भेलादेखि टोलसभा वा घरदैलोमा पुग्ने नेतासँग कार्यक्रर्ता विकास मागिरहेका छन् । ‘नेता ज्यू ! रोजगारी चाहियो ? विगत ८ बर्षदेखि भारतमा काम गर्ने कालीगण्डकी गाउँपालिका ३ जयखानीका लिलाबहादुर दर्लामीले नेता प्रदिप ज्ञवालीलाई भने, ‘विगतमा गल्ती गरियो, अब त्यसो हुन्न रोजगारी सिर्जना गर्नेलाई भोट दिन्छौ ।’ २९ वर्षिय दर्लामीले परिवारको रोजीरोटीकै लागि भारतमा काम गर्छन् । ‘विगतमा नेताका आश्वासन धेरै पाइयो,’उनले भने,‘ रोजगारीको सिर्जना कसैले गरेन ।’

ओत दिए भोट दिन्छौँ !

कालीगण्डकी गाउँपालिका ३ चौरकी हरीकला न्यौपानेको घर भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएको छ । उनलाई घर चाहिएको छ, नेतालाई भोट । ‘हालसम्म राजनीतिक दलका धेरै नेताले आश्वासन दिए,’उनले भनिन्,‘आफूलाई रात कसरी कटाउने भन्ने चिन्ता छ ।’ एकपटक प्रहरी अनुगमनको लागि पुगेपनि आफूलाई भूकम्प पीडितको सूचिमा नपारेको उनको गुनासो छ । ‘राहातका लागि धेरै पटक धाएपनि कतैबाट मिलेन, घर बस्न लायक छैन,‘ उनले भनिन्, ‘मेरो घर बनाइदिनेलाई भोट दिन्छु ।’ आफ्नो घर गाउँको पुछारमा भएकोले पनि कसैले वास्ता नगरेको उनको भनाई छ । उनी मात्र होइन सोजे जस्तो काम हुन नसक्दा धेरै भुकम्प पीडितको दैनिक कष्टकर बन्दै गएको छ ।

जातिय विभेद अन्त्य गर्नेलाई भोट !

मदाने गाउँपालिका ७ घमिर भानुपोखराका भीमबहादुर विकको भने अरुको भन्दा बेग्लै माग छ । अघिल्लो चुनावमा राजनीतिक दलका घोषणपत्र र आम सभामा जातिय विभेद विरुद्धका नारा थुप्रै थिए । तर अहिले उनी र उनी जस्ता दलितलाई गाउँमा जातिय छुवाछुतको चपेटामा परेका छन् । ‘बर्षौदेखि जातिय विभेद कायम छ, नारा मात्र भए काम भएनन,’ उनले भने,‘जसले जातिय समानता कायम गरी दलितलाई आय आर्जनको बाटोमा उन्मुख गराउँछ त्यसैले भोट पाउँछ ।’

भोट भन्दा पहिले खानेपानी चाहियो !

धुर्कोट गाउँपालिका ४, ५ र, ६ वडामा खानेपानीको निकै समस्या छ । धेरै पुरानो होल्बाङ्ग बाङ्ग्रा खानेपानीले आवश्यक मात्रामा खानेपानीको पूर्ति गर्न सकेको छैन् । अहिले जुन पार्टीका नेता भोट माग्न आए पनि मतदाताले खानेपानीको योजना माग गरेका छन् । ‘हटियाका जनतालाई खानेपानीको निकै समस्या छ, स्थानिय शिक्षक नारायण पाण्डेले भने, ‘हटिया क्षेत्रको भोट लैजाने उम्मेद्धारले सबैभन्दा पहिले खानेपानीको समस्या समाधान गर्नुपर्छ ।’ खानेपानीको समस्या वस्तु, जैसिथोक, धुर्कोट रजस्थल लगायत जिल्लाका विभिन्न स्थानमा अझै पनि विकराल अवस्थामा रहेको छ ।

बिगतदेखि अहिलेसम्म विभिन्न पार्टीका उम्मेद्धारहरुको मुख्य एजेण्डा मोटर बाटो नै हो । नयाँ ट्रयाक खोल्ने, स्तरोन्नति गर्ने वा कालोपत्रे इत्यादी । प्रायः दलका घोणणा पत्रमा नछुट्ने यो मुद्धा नै जस्ताको तस्तै हुँदा कार्यक्रर्तामा त्यति धेरै उत्साह छैन् । ‘नेतालाई देखाउन सहिजो कार्यकर्ता बिलासी, गाउँभरी खाली बाटा मात्रै छन्,’इस्मा गाउँपालिका ३ का केशव अधिकारीले भने,‘ कुनै राम्रा छैनन, बर्खा लागे ठप्प हुन्छन् ।’

जिल्लाका सवै उम्मेदवारका उस्तै एजेण्डा !

जिल्लाका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका लगभग चुनावी एजेण्डा मिल्दा जुल्दा छन् । सवै दलका उमेदवारहरुले सडकलाई प्राथमिकतामा राखेका छन् । साथै पर्यटन प्रर्वद्धन र कृिष क्षेत्रको विकास मार्फत जिल्लाका मुहार फेर्ने सकल्प पनि गरेका छन् । खानेपानी, बिजुली र युवाहरुलाई रोजगारी प्रदान गर्ने गुलिया घोषण पत्र पनि तयार भएका छन् । गुल्मेली जनताको भाग्य र भविष्यको खाका वाम गठबन्धनसँग भएकाले बहुमत पाए पाँच वर्षमा प्रतिपक्षलाई सिक्न लाएक जिल्ला बनाउने प्रतिनिधि सभा क्षेत्र नं २ का उमेदवार गोकर्ण बिष्टले बताए ।

‘हामीले केन्द्रदेखि जिल्लाकासम्मको विकास योजना बनाएका छौ, त्यो अरु पार्टीको भन्दा बेग्लै छ,’उनले भने,‘जनताले योजना सम्पन्न गर्ने अवसर प्रदान गर्नु हुनेछ ।’ साथै कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार चन्द्र भण्डारीले जिल्लाको विकास र समृद्धिका लागि कांग्रेससँग स्पष्ट दृष्टिकोण र योजना रहेको बताए । ‘जिल्लाको विकासको लागि बिगत र वर्तमानमा कांग्रेसको भूमिका महत्वपूर्ण छ,’उनले भने,‘धेरै काम कार्यान्वयनको चरणमा छ, त्यो पुरा गर्ने जिम्मेवारी जनताले मलाई दिन्छन् ।’ नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस