चीनले ताइवान नजिकका तटीय शहरहरुमा हतियारहरु तैनाथ गर्न थाल्यो

एजेन्सी

बुधबार, २८ साउन २०७७, १३ : ३९
चीनले ताइवान नजिकका तटीय शहरहरुमा हतियारहरु तैनाथ गर्न थाल्यो

एजेन्सी । चीनले ताइवान नजिकका तटीय शहरहरुमा हतियारहरु तैनाथ गर्न थालेको छ। चिनियाँ जनमुक्ति सेनाले ‘जल र जमीन’ दुवैमा प्रयोग हुनसक्ने हतियारहरु बढाएर तैनाथ गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

ताइवान पुनर्मिलन गराउने उद्देश्यका साथ ताइवान नजिक पर्ने तटीय शहरहरुमा चीनले हतियारहरु तैनाथ गरेको विज्ञहरु बताउँछन् ।

प्रभावशाली सैन्य म्यागेजिन कान्वा एसियन डिफेन्समा भूउपग्रहले खिचिएका तस्बिरहरु सार्वजनिक भएका छन् । जहाँ चीनले ताइवान नजिकका क्षेत्रमा टाइप ०५ एम्फिबियस आर्मर्ड भेइकलहरु तैनाथ गरेको देखिएको छ ।

कान्वा एसियन डिफेन्स म्यागेजिनका सम्पादक आन्द्री चाङका अनुसार चिनियाँ जनमुक्ति सेनाका स्थलसेना निकै शक्तिशाली छन्, उनीहरुले क्षेप्यास्त्र शक्ति बिना नै ताइवानमा आक्रमण गर्न सक्दछन् ।

चीनले ताइवान नजिकका क्षेत्रमा पीसीएल१९१ मल्टिपल लन्च रकेट प्रणाली पनि तैनाथ गर्न लागेको प्रमाणहरु रहेको बताइएको छ ।

यस रकेट लन्चरहरुबाट ३५० किलोमिटर टाढासम्म क्षेप्यास्त्र प्रहार गर्न सकिन्छ । यसको मतलब चीनले पश्चिमी ताइवान र राजधानी ताइपेइसम्म नै आक्रमण गर्नसक्छ ।

ताइवानले आफू लोकतान्त्रिक मुलुक भएको बताउँछ तर चीनले ताइवानलाई आफ्नो मुलुकको अंगको रुपमा हेर्ने गरेको छ ।

चीनले आवश्यक परेको खण्डमा आफूले शक्ति लगाएर ताइवान कब्जा पनि गर्नसक्ने बताइरहँदा ताइवानले चिनियाँ खतरासँग जुध्नलाई आफ्नो रक्षाशक्ति मजबुत बनाउन थालेको बताएको छ ।

गत मे महिनामा ताइवानकी राष्ट्रपति साइ इंग–वेनले आफ्नो नयाँ कार्यकालमा क्षेप्यास्त्र कार्यक्रम अगाडि बढाउने र प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउने बताएकी थिइन् ।

उनले चीनको एक देश दुई प्रणाली नीति ताइवानमा नचल्ने पनि बताएकी थिइन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनबाट खतरा महसुस हुन थालेपछि ताइवानले चीनसम्मै पुगेर मार हान्नसक्ने क्षेप्यास्त्रको विकास गरिरहेको छ ।

केही समय अगाडि मात्र चीनका राष्ट्रपति सी चिनफिङले ताइवानका अलगाववादीबाट चीनलाई खतरा उत्पन्न भएकाले चिनियाँ जनमुक्ति सेनाले युद्धको तयारी थाल्नुपर्ने बताएका थिए ।

सीले आफ्ना सेनालाई युद्धको तयारी थाल्न बताइरहँदा ताइवान नजिकका चिनियाँ तटीय शहरमा हतियारहरु तैनाथ गर्न थालिएको हो ।