माधव नेपालले आफु निकट नेता बोलाएर के भने ?

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, ०९ : ३६
माधव नेपालले आफु निकट नेता बोलाएर के भने ?

काठमाडौं । वरिष्ठ नेता माधव नेपाललाई सोमबार बिहान केन्द्रीय सदस्य डा विजय पौडेलले फोन गरे,–‘कमरेड ! तपाईसँग हामी केही केन्द्रीय सदस्यले भेट गर्न खोजेका छौं । हामी तपाई कहाँ आउन खोजेका छौं, के गरौं ?’ आफु निकट केन्द्रीय सदस्य पौडेलले भेला गरी भेट गर्न आउन खोजेपछि वरिष्ठ नेता नेपालले दिउँसो २ बजे निवास नजिकैको वनपैदावारको कार्यालयमा आउन अनुमति दिए । 

त्यसपछि कोटेश्वरस्थित नेपाल निवास छेउमै रहेको वन पैदावरको कार्यालयमा पौडेल सहित केन्द्रीय सदस्यहरु मेटमणि चौधरी, ठाकुर गैरे, रामकुमारी झाँक्री , यज्ञराज सुनुवार, गणेश पहाडी दिलु पन्त, निरज आचार्य  लगायतका एक दर्जन बढी नेताहरु पुगे ।  नेपालसँगै थिए,– स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र गोर्कण विष्ट पनि ।  ‘तपाईहरु मध्ये केहीले त हिजो (आइतबार) हस्ताक्षर अभियान पनि चलाउनु भएछ, खास त्यसको उदेश्य के हो ?’ वरिष्ठ नेता नेपालले सहभागी मध्येका सांसदहरु गणेश पहाडी, रामकुमारी झाक्री लगायततर्फ प्रश्न तेस्र्याए ।

यी सांसदहरुले प्रचण्ड र ओली निकटका सांसदहरुसँग समेत मिलेर आइतबार ६३ सांसदहरुको संयुक्त हस्ताक्षर गर्दै पार्टीलाई विभाजनबाट रोक्नुपर्ने, आफुहरु कुनै समुहबन्दीमा नलाग्ने जस्ता उदेश्य राखेर हस्ताक्षर नै संकलन गरि पत्रकार सम्मेलन मार्फत नेताहरुमाथी दबाब वढाएका थिए । ‘पार्टी विभाजन रोक्न र एकतालाई अक्षुग्ण राख्नका लागि नेतृत्वलाई आग्रह गर्न खोजिएको हो,’–झाँक्रीले नेता नेपाललाई अभियानबारे बताए । त्यसपछि नेपालले भने, –‘अहिलेसम्म तपाईहरुको भूमिका ठिक छ । तर अब यस भन्दा धेरै अगाडी नबढनुहोला ।

प्रधानमन्त्रीले विधि नमान्ने, संस्थागत रुपमा चल्न नचाहने, मै हँु स्टेट भने जसरी चल्न खोज्ने अनि उनलाई नै बल पूग्ने गरी गतिविधि गर्दा सोच्नुहोला । दबाब प्रधानमन्त्रीमाथी बढाउन जरुरी छ ।’ उनले आफुहरु अडानमा कायमै रहेको पनि बताएका थिए । प्रचण्ड, आफु, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठका बीचमा कुनै असहमति नरहेको र ओलीको स्वेच्छाचारिता विरुद्ध एकगठ भएर नै संर्घषमा उत्रने नेता नेपालको भनाई थियो । ‘हामी चार नेता एकताबद्ध छौं, निरन्तर सामुहिक छलफलमा छौं, कसैले पनि अडान छोडेका छैनौं, ओलीलाई नै लगाउने गरी प्रयास जारी राखेका छौं,’– वरिष्ठ नेता नेपालको भनाई थियो । 

नेताहरुले रोकिएको स्थायी समिति बैठक, शीर्ष तहमा देखिएको सम्वादहिनता र अबको योजनामा केन्द्रीत रहेर वरिष्ठ नेता नेपालसँग प्रश्न गरे । त्यसपछि नेपालले आफुहरु बैठक बसाल्नेतिर नै कोसिसरत रहेको बताएका थिए । ‘हामीले विधि पद्धतीका कुरा उठाईरहेका छौं । समस्या प्रधानमन्त्रीमै हो, उहाँलाई कसरी स्थायी समिति बैठकमा ल्याउने भन्ने कोसिस जारी छ । उहाँले बैठकमा आएर आफना कुरा नराखी सुखै छैन, स्थायी समिति बैठक छलेर उहाँ जान सक्नुहुन्न,’ वरिष्ठ नेता नेपालको भनाई उदधृत गर्दै केन्द्रीय सदस्य मेटमणि चौधरीले भने, –‘उहाँ पार्टी बैठकमा आउन चाहनुभएन भने धेरै समय यसै गरी बैठक लिङगरिड राख्ने हुदैंन् । बैठक बसेर एउटा निश्र्कषमा जानुपर्ने हुन्छ ।’
नेता नेपालले पार्टीमा बहुमत आफुहरुसँग रहेको र बहुमत पक्षले संयम अपनाएर जानुपर्ने भन्दै अझै पनि प्रधानमन्त्रीलाई सञ्चाएर लैजान नै आफुहरुले मौका दिईरहेको बताएका थिए । केन्द्रीय सदस्य निरज आचार्यले पनि पार्टी बैठक कसरी बोलाउने भन्नेमै नेताहरु अहिले पनि केन्द्रीत भईरहेको बताए । ‘नेकपामा विधिको बाटो हरायो, पार्टीलाई विधिमै फर्काउनुपर्छ । त्यो भनेको पार्टी बैठक राख्ने विषय नै हो । त्यसका लागि अझै हामी कोसिस गरिरहेका छौं भन्ने माधव कमरेडको कुरा थियो,’– केन्द्रीय सदस्य आचार्यले भने । नेकपामा १३ असारबाट पार्टी स्थायी समिति बैठक बस्न सकेको छैन् । प्रधानमन्त्री ओलीले बैठक नचाहेका कारण उनलाई कसरी बैठकमा ल्याउने भन्नेमा ओली इतर पक्षका नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस