खाली भए सामुदायिक विद्यालयमा बनाइएका क्वारेन्टाइन

सूर्यप्रकाश कँडेल

सोमबार, २६ साउन २०७७, ११ : ३४
खाली भए सामुदायिक विद्यालयमा बनाइएका क्वारेन्टाइन

भरतपुर महानगरपालिका ४, नवदुर्गाचोकस्थित राष्ट्रिय आधारभुत विद्यालय परिसर । यस विद्यालयमा रहेको क्वारेन्टाइन खाली गरिसकिएको छ । तस्बिर : सूर्यप्रकाश कँडेल

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४, नवदुर्गाचोकस्थित राष्ट्रिय आधारभुत विद्यालय परिसर यतिबेला सुनसान छ । अघिल्लो सातासम्म यस विद्यालयमा बनाइएको क्वारेन्टाइनमा विदेशबाट आएका चार जना थिए । अहिले सबैलाई घर पठाएर विद्यालय परिसरमा सरसफाई गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम सापकोटाले जानकारी दिए । ‘नजिकैको मन्दिरमा दुई जना शिक्षक राखेर विद्यार्थी भर्नाको काम भइरहेको छ’ सापकोटा भन्छन्, ‘वडाभित्र अरु विद्यालयले क्वारेन्टाइन बनाउन नमानेपछि यस विद्यालयमा ठाउँ दिएका थियौँ । अब सरकारबाट हुने निर्देशन अनुसार भर्ना र अन्य शैक्षिक गतिविधि अगाडि बढाउँछौँ ।’

बन्दाबन्दी सुरु गरिएको साढे चार महिना बितिसक्यो । बन्दाबन्दी खुल्यो तर विद्यालय खुलेका छैनन् । केही सामुदायिक विद्यालयलाई त कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरु राखिने क्वारेन्टाइन नै बनाइयो । अहिले चितवनका सात वटै स्थानीय तहमा रहेका सामुदायिक विद्यालयमा बनाइएका क्वारेन्टाइन खाली भइसकेका छन् । सरकारले भदौ १ गतेबाट हरेक विद्यालयमा विद्यार्थी भर्ना र परीक्षा सञ्चालनका काम गर्न सकिने बताएपछि विद्यालयमा बनाइएका क्वारेन्टाइन खाली भएका हुन् ।

चितवनमा सामुदायिक क्वारेन्टाइन खाली भए, तर कोरोना संक्रमण फैलिने जोखिम भने बढेको छ । हालसम्म एक सय १५ जनाभन्दा बढी संक्रमित पाइएको चितवनमा पछिल्ला दिनमा संक्रमितको संख्या थपिँदै गएको छ । गएको शुक्रबार तीन जनामा संक्रमण पाइएको चितवनमा शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विद्यालय सञ्चालनमा अन्यौल

सरकारी निर्देशनबमोजिम चितवनका विद्यालयबाट क्वारेन्टाइनहरु खाली त गराइयो, तर विद्यालय सञ्चालनमा भने अझै पनि अन्यौल सिर्जना भएको छ । ‘केही दिनअघिसम्म चितवनमा कोरोना संक्रमित नदेखिँदा भदौ १ गतेबाट विद्यालय खोलेर भर्ना अभियान चलाउन सकिन्छ कि भन्ने लागेको थियो तर पछिल्लो समय संक्रमितहरु भेटिन थालेपछि अन्यौल सिर्जना भएको छ’ भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले भने ।

भदौ १ गते आउन अझै केही दिन बाँकी भएको हुँदा चितवनको अवस्थालाई राम्रोसँग अध्ययन गरेर एउटा निर्णयमा पुगिने उनको भनाइ छ । ‘भदौ १ गतेबाट पढाइ होइन, भर्नामात्र हो । संक्रमितको संख्या नबढे सतर्कता अपनाएर भर्नासम्म खोल्न सक्छौँ’ पौडेल भन्छन्, ‘नगर समिति, स्थानीय प्रशासन, नगरका प्रमुख, विज्ञलगायतको छलफलबाट एउटा निष्कर्षमा पुगेरमात्र स्कुल खोल्ने या नखोल्ने निर्णयमा पुग्छौँ ।’

शिक्षाविद् रमाकान्त सापकोटा संकटको बेला विवेक प्रयोग गर्नुपर्ने बताउँछन् । भन्छन्, ‘अभिभावक आफ्ना बाबुनानीलाई यो अवस्थामा स्कुल पठाउन सक्छन् कि सक्दैनन्, बाबुनानी सुरक्षित भएर घर फर्कन सक्छन् कि सक्दैनन् भन्ने विचार गर्नुपर्छ ।’ संक्रमितको संख्या बढ्दाबढ्दै तत्काल विद्यालय सञ्चालन नगर्दा नै राम्रो हुने उनको सुझाव छ । सापकोटाले भने, ‘भदौ १ गतेबाट भर्ना चलाउन सक्छौँ भन्ने मलाई विश्वास छैन, सम्भावना पनि देख्दिनँ ।’

संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सूर्यकान्त न्यौपाने तत्काल स्कुल सञ्चालनमा ल्याएर थप भयावह अवस्था सिर्जना गर्न नहुने बताउँछन् । भन्छन्, ‘विद्यालय एक महिना ढिलो खोल्दा पनि हुन्छ, तर भयावह अवस्था आइरहेको समयमा अहिले तत्काल विद्यालय खोल्ने निर्णय नगरौँ ।’

भरतपुर महानगरपालिका, इच्छाकामना गाउँपालिकासँगै रत्ननगर, माडी, खैरहनी, राप्ती र कालिका नगरपालिकाले विद्यालयबाट क्वारेन्टाइन हटाइसकेका छन् । क्वारेन्टाइन हटाएर निर्मलीकरण गरेपछि भदौ १ गतेबाट विद्यार्थी भर्ना अभियान चलाउने स्थानीय तहहरुको तयारी छ । अवस्था असामान्य रहे भदौबाट विद्यालय खोल्न नदिने सम्भावना पनि छ । 

चितवनमा ९० वटा भन्दा धेरै सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाइएको थियो । भरतपुर महानगरपालिकाभित्र मात्रै ३० वटाभन्दा बढी विद्यालयमा क्वारेन्टाइन रहेका थिए ।

प्रतिक्रिया दिनुहोस