गृहमन्त्री बादलको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

सफल खबर संवाददाता

शनिबार, २४ साउन २०७७, १४ : ३२
गृहमन्त्री बादलको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

कोभिड–१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजीकको सम्पर्कमा परेपछि बिहीबार स्वाब लिएर परीक्षण गरिएकामा बादलसहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।  

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार परीक्षणमा गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राई, र राजनीतिक सल्लाहकार सूर्य सुवेदीको रिपोर्ट नेगेटिभ आएको छ ।

यही साउन १४ गते प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एउटा कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेशमन्त्री यादव सहभागी थिए । त्यसको पाँच दिनपछि मन्त्री यादवलाई कोभिड–१९ पुष्टि भएपछि उनको ‘क्लोज कन्ट्याक’मा रहेका गृहमन्त्रीसहित सहभागी टोलीको परीक्षण भएको थियो । 

प्रधानमन्त्री ओलीको रिपोर्ट पनि यसअघि नै नेगेटिभ आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस