वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण

सफल खबर संवाददाता

शनिबार, २४ साउन २०७७, १२ : १६
वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण

डिसी । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महतलाई कोरोना भाइरस संक्रमण भएको छ ।

अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका हुन् । 

उनले छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा हाल आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको जानकारी दिएका छन् । 

ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गर्दै उनले कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन आह्वान गरेका छन् । सबैलाई जानकारी गराउँदा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनलाई सहयोग पुग्ने उनको भनाइ छ ।