पेट्रोलियम पदार्थको भण्डारणको लागि तीन नयाँ भण्डारण गृह बन्दै

पत्रपत्रिकाबाट

शनिबार, २४ साउन २०७७, ०८ : १०
पेट्रोलियम पदार्थको भण्डारणको लागि तीन नयाँ भण्डारण गृह बन्दै

काठमाडौं । आगामी १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी कम्तीमा एक महिनालाई पर्याप्त हुनेगरी चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्ने भएका छन् ।

चालू आर्थिक वर्ष २०७७÷७८ मा नै सो कार्य प्रारम्भ गरिने नेपाल आयल निगमले जनाएको छ । हाल नेपालमा पेट्रोल पाँच दिन, डिजेल आठ दिन र हवाई इन्धन १० दिनलाई पुग्ने भण्डारण क्षमता छ । त्यसलाई वृद्धि गरी पहिलो चरणमा कम्तीमा एक महिनालाई पुग्ने भण्डारण क्षमता बढाउन लागिएको हो ।

निगमले वार्षिक नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थको भण्डारणलाई उच्च प्राथमिकतामा राखेको छ । सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन कर्णाली र सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाइने भएको छ । भण्डारण गृह निर्माणका लागि निगमले यसअघि नै जग्गा खरिद गरिसकेको छ । गोरखापत्रमा खबर छ ।