कोरोना कहर : धराशायी बन्दै सञ्चार माध्यम

रासस

विहीबार, २२ साउन २०७७, २० : ५७
कोरोना कहर : धराशायी बन्दै सञ्चार माध्यम

नारायण अधिकारी 
चितवन । कोरोना भाइरस सङ्क्रमणसँगै व्यावसायिक क्षेत्रमा देखिएको प्रभावको प्रत्यक्ष असर सञ्चार उद्योगमा देखिएको छ ।  सञ्चार उद्योगको मुख्य आम्दानी विज्ञापन हो । विज्ञापन दाता प्रभावित भएपछि त्यसको प्रत्यक्ष असर सञ्चार उद्योगमा देखिएको हो । जिल्लामा चार वटा दैनिक पत्रिका, १३ वटा साप्ताहिक, एउटा मासिक, २४ वटा अनलाइन, पाँच वटा टेलिभिजन र २३ वटा रेडियो छन् । तीमध्ये अधिकांश सञ्चारमाध्यम धान्न मुस्किल भएको छ । नियमित सञ्चालन भए पनि विज्ञापन नहुँदा प्रभावित भएका हुन् । 

कालिका एफएम र टिभी कालिकाका निर्देशक दीपक पौडेलले ऋण खोजेर तलब खुवाउनुपर्ने बाध्यतामा आइपरेको बताए । “आफ्नो संस्थामा बत्तीस जना पत्रकार÷कर्मचारी कार्यरत छन्”, उनले भने, “उनीहरुलाई हरेक महिना तलब खुवाउँदै आएकामा अहिले दुई÷दुई महिनामा तलब खुवाउन बाध्य भएका छौं ।” संस्था सञ्चालनका लागि मासिक रु आठ लाख खर्च हुने भन्दै उनले विज्ञापन दाताको अवस्था नै बिग्रिएपछि विज्ञापन आउन छाडेको बताए । 

जिल्लाको पुरानो दैनिक चितवन पोष्टका प्रबन्ध निर्देशक गोविन्द अर्यालले मासिक खर्चको ३३ प्रतिशत आम्दानी हुन नसकेको जानकारी दिनुभयो । लकडाउनअघिसम्म सरदर दैनिक रु ५० हजारको विज्ञापन हुने गरेकामा अहिले रु १० हजार पु¥याउन पनि मुस्किल परेको बताए । यो दैनिकमा बत्तीस जना कर्मचारी कार्यरत रहेको बताउँदै उनले अहिले पनि मासिक खर्च रु नौ लाख भइरहेको जानकारी दिए। उनले भने, “खर्च रु नौ लाख हुन्छ । आम्दानी रु तीन लाख छ ।” अब पत्रिका कसरी धान्ने भन्ने चिन्ता भएको छ । पत्रकार÷कर्मचारीलाई बेतलबी बिदा बस्न अनुरोध गर्ने तयारीमा आफू लागेको उनको भनाई छ ।

आम्दानीले धान्ने गरी खर्चको व्यवस्थापन गर्ने तयारीमा आफू जुटेको अर्यालको भनाइ छ । सफल खबर अनलाइनका सञ्चालक सुरेशचन्द्र अधिकारीले खर्चको ४० प्रतिशत पनि आम्दानी गर्न मुस्किल परेको बताए। लकडाउन अघिसम्म १८ जना पत्रकार÷कर्मचारी रहेकामा अहिले सफल खबरमा १४ जना कार्यरत छन् । मासिक रु आठ लाख खर्च हुने भन्दै  उनले अझै एक÷दुई महिनामा पनि सुधार नभएमा कर्मचारी कटौतीको विकल्प नभएको बताए ।  सञ्चार उद्योग अहिले निकै सङ्कटमा रहेको भन्दै उनले सबैको साथ र सहयोग भएमा मात्र बच्नसक्ने बताए । आभास टेलिभिजनको अवस्था पनि अरुको जस्तै छ ।

टेलिभिजनका सञ्चालक कोमलचन्द्र भगतले आफँले काम गर्दा पनि लकडाउनमा रु तीन लाख नोक्सान रहेको सुनाए । टेलिभिजनमा उनका श्रीमान÷श्रीमती पूरै समय खटिरहेका छन् भने चार जना कर्मचारी रहेका छन् । हालसम्म जिल्लामा कुनै पनि सञ्चारमाध्यमले कर्मचारी निस्कासन गरेको उजुरी नेपाल पत्रकार महासङ्घमा आएको छैन । राजधानीबाट प्रकाशन र प्रसारण हुने अधिकांश सञ्चारमाध्यमका कार्यालय वा संवाददाता जिल्लामा छन् । केहीबाहेक अधिकांशले नियमित तलब नपाएको गुनासो गरेका छन् ।

नामभन्दा अप्ठ्यारो पर्ने भन्दै उनीहरुले आफ्नो दुखेसो पोखेका छन् । सञ्चालक पत्रकार आफैँ रहेर सञ्चालन भएका रेडियो, साप्ताहिक पत्रिका र अनलाइन पनि छन् । उनीहरुको गुनासो गर्ने न ठाउँ छ न निरन्तरता दिने अवस्था नै छ ।
नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले लिखितरुपमा नभए पनि पत्रकार र सञ्चार उद्यमीले गुनासो गरिरहेको बताउनुभयो । उनले भने, “उहाँहरुले मौखिकरुपमा सञ्चारमाध्यमलाई निरन्तरता दिन कठिन भएको, नियमित तलब पाउन नसकेको गुनासो गरिरहनुभएको छ ।” लकडाउनका समयमा जिल्लाका सबै पत्रिका बन्द भए पनि अहिले सञ्चालनमा आएका छन् ।

महासङ्घले सबै सञ्चार उद्यमीलाई फरकफरक समयमा बोलाएर अवस्थाका बारेमा बुझेको अध्यक्ष खतिवडाको भनाइ छ । स्थानीय तहलाई समानुपातिकरुपमा विज्ञापन वितरण गरिदिन आग्रह गरिएको भन्दै उहाँले लकडाउनकै समयमा ३४ पत्रकारलाई राहत वितरण गरिएको बताए । महासङ्घले निर्देशिका बनाएर पत्रकारलाई सकेसम्म घरबाट काम गर्न र बाहिर जानुपर्ने भए उच्च सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

सबै पत्रकारको महासङ्घले कोरोना बीमासमेत गरेको छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भए नभएको स्थलगतरुपमा पुगेर अनुगमन पनि गरिरहेको उनले जानकारी दिए । जिल्लामा महासङ्घका २३६ सदस्य छन् । यसबाहेक ६० जना क्रियाशील पत्रकार छन् । 

प्रतिक्रिया दिनुहोस