चितुवाको आक्रमणमा परि एक बालिका घाइते

रासस

आइतबार, १८ साउन २०७७, १० : १७
चितुवाको आक्रमणमा परि एक बालिका घाइते

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा गएराति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिएका छन् । उनीको घाँटीमा चोट लागेको छ ।

हजुरबुवा धनबहादुर पन्तको घरमा बसिरहेकी ती बालिका सोही ठाउँको चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् । “रातिको समयमा घरको आँगनमा बसेका बेला चितुवाले आक्रमण गरी बालिकालाई घाइते बनाएको छ, रातको समय भएकाले चितुवाले आक्रमण गर्न सजिलो हुने हुनाले विशेष सतर्कता अपनाउनुपर्छ”, प्रमुख बरालले भने ।

विसं २०७४ फागुनयता चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् । पछिल्लोपटक गत वैशाख २५ गते भानु नगरपालिका–४ चुँदीमा चितुवाको आक्रमणबाट स्थानीय ३६ वर्षीय रामबहादुर कुमाल घाइते भएका थिए । त्यसयता चितुवाको आक्रमण रोकिएकामा पुनः चितुवाको आक्रमणबाट शुरु भएपछि स्थानीयवासी त्रसित छन् । 

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वनकुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन प्रमुख बरालको भनाइ छ । “ठूला मान्छेलाई भन्दा साना बालबालिकालाई आक्रमण गर्न सजिलो हुने भएकाले चितुवाको निशानामा बालबालिका पर्दै गएको देखिन्छ”, उनले भने, “साँझको समयमा चितुवा आक्रमण हुने भएकाले त्यसबेला विशेष ध्यान पु¥याउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस