‘फेसबुक’ मा तथानाम लेखेर शंकर पोखरेल फेरि किन पुगे प्रचण्ड निवास ?

सफल खबर संवाददाता

आइतबार, ११ साउन २०७७, ०९ : ३५
‘फेसबुक’ मा तथानाम लेखेर शंकर पोखरेल फेरि किन पुगे प्रचण्ड निवास ?

काठमाडौं । सत्तारुढ दल नेकपाको विवाद झन झन नयाँ नयाँ मोडमा पुगेको छ । विवाद मिलाउन नेताहरुले गरेका अनेक प्रयास पनि सार्थक हुन नसकिरहेको बेला विवाद नयाँ मोडमा पुग्न थालेको हो । १३ साउनमा नेकपाको स्थायी समिति बैठक बस्दैछ । १० असारबाट चल्दै र स्थगित हुदै आएको यो बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको पार्टीका शीर्ष नेताहरुले नै राजीनामा माग गरेपछि विवाद चर्केको हो ।

विवाद यति सम्म चर्केको छ की प्रधानमन्त्री ओली पार्टी बैठकमा जान समेत छोडेका छन् । ओली बैठकमै जान छोडेपछि बैठक बस्नै नेकपालाई सकस परिरहेको छ । अब १३ साउनको बैठक के होला ? नेकपाका कुनै पनि नेताले यस्तै हुन्छ भनेर भन्न सक्ने अवस्था छैन । प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले गत शुक्रवार ओलीको कार्यशैली र पार्टीभित्र देखा परेको विवादका विषयमा सार्वजनिक मञ्चमै अभिब्यक्ति दिए । 

ओलीले लिम्पियाधुरासम्मको नक्सा सार्वजनिक गर्ने काममा आफु ब्यक्ति एउटाले मात्र  नक्सा प्रकाशित गरेको र पार्टीकै अन्य नेताहरुले भने कुनै योगदान नै नगरेको भनेपछि पार्टी नेताहरु नै आक्रोशित छन् । त्यही अभिब्यक्ति गत शुक्रबार अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममै ब्यक्त गरिदिएका थिए । त्यसपछि नेकपाभित्रको विवाद नयाँ मोडमा पुगेको हो । सहमतिका लागि दुई अध्यक्षको बीचमा भईरहेको छलफल सकारात्मक भनिरहेका बेला प्रचण्डको पछिल्लो अभिब्यक्तिले विवाद जहाँको त्यही रहेको तथ्य देखाएको छ ।

प्रचण्डको यो अभिब्यक्ति पछि ओली क्याम्पमा भने भूकम्प नै ल्याईदिएको छ । त्यसपछि ओली निकट नेताहरुले प्रचण्डलाई लक्षित गर्दै अनेक खाले टिकाटिप्पणी गर्न थालेका छन् । त्यही एउटा प्रसंग यहाँ उल्लेख गर्न खोजिएको हो ।  प्रसंग हो, ओलीका अति विश्वासप्राप्त स्थायी समिति सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको । पोखरेलेले तथ्य बाहिर गएर ओलीको बचाउका लागि बेलाबेला अनेक फन्डा प्रयोग गर्दै आईरहेका छन् । ओलीको संकट टार्न कहिले प्रचण्ड , कहिले माधव नेपालकँहा एकै खालको प्रस्ताव लिएर दौडने गरेका पोखरेल अझै प्रचण्ड फकाउन प्रयासरत छन् । त्यही क्रममा उनी हिजो बिहान पनि प्रचण्ड निवास पुगेका छन्  ।

प्रचण्डको शक्रबारको अभिब्यक्तिलाई सामाजिक सन्जालमा टिप्पणी गर्दै कालापानी क्षेत्रको सिमा विवाद पुरानै भएको र पहिले आफु प्रधानमन्त्री हुदा किन नक्सा सार्वजनिक नगरेको जसरी आलोचनामा उत्रेका थिए ।  उनले लेखेका थिए, कालापानी क्षेत्रको सिमा विवाद पूरानै हो । आफु प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको ?  पोखरेलले यो तथ्य बुझेनन् की ओली पहिला पनि प्रधानमन्त्री भएका थिए । कालापानी क्षेत्रको विवाद नयाँ होइन, पूरानो हो । तर यो विषयमा जब भारतले नक्सा जारी गरेर थप विवादमा ल्यायो, त्यसपछि नै नेपालले पनि आफनो कदम चालेको हो । यसमा ओलीले भने जस्तो उनको मात्र प्रयासले नक्सा जारी भएकै होइन् । 

तर ओली र उनका निकट नेताहरु ओलीको पार्टीभित्रको संकट टार्न यही एउटा अस्त्रलाई अहिले सत्ता टिकाउने मेलोमेसो बनाउन लागिरहेका छन् । पार्टी स्थायी समिति केन्द्रीय समिति देखि सचिवालय सम्म भएका छलफलको श्रृखंला बताउदै प्रचण्डले आम जनतालाई तथ्य उजागर गरिदिएपछि अत्तालिएका ओली निकट नेताहरु अहिले उनको बचाउमा लागेका हुन् ।  त्यही क्रममा पोखरेलले पनि तथ्य बिगारेर सामाजिक सन्जालमा ओलीको बचाउ गर्न खोजेका देखिन्छन् ।

शनिबार बिहान ६ वजे फेसबुकमा त्यस्तो लेखेका उनै पोखरेल सात बज्दा नबज्दै भने फेरि प्रचण्ड निवासमा पुगेका थिए । ओलीको सत्ता बचाउको लागि निक्कै दौडधुपमा लागेका उनले हिजो पनि प्रचण्ड निवासमा पुगेर दुई अध्यक्ष मिल्नुको विकल्पै नभएको भन्दै लौ न मिल्यौं भन्ने प्रस्ताव गरेका थिए । उहाँ ६ बजे फेसबुकमा प्रचण्डका विरुद्ध टिप्पणी गर्ने र फेरि लौ न दुई अध्यक्ष मिलौं, प्रधानमन्त्री अब कमजोरी सञ्चाउन तयार हुनुहुन्छ भन्दै खुमलटार आईपुगनुभएको थियो, खुमलटार निकट स्रोतले सफलखबरसँग भन्यो ।

पार्टीभित्रको संगठनात्मक समस्या र ओलीको कार्यशैलीमा देखिएको स्वेच्छाचारितालाई अहिले महाधिवशेनको माध्यमबाट टार्ने मेसोमा ओली पक्ष छ । त्यसका लागि सम्भव नै नभएको मंसिरमा महाधिवेशन गर्ने कुरा ओलीले प्रस्ताव गरिरहेको छ । तर ओलीको यो अस्त्र कति कामयावी हुन्छ, त्यो भने अहिले भन्न सकिने अवस्था छैन् । 

प्रतिक्रिया दिनुहोस